पैसाको विवादमा मध्यराति युवतीको हत्या

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

झापाको दमक नगरपालिका– १० स्थित रतुवाखोलामा १६ जेठमा बोरामा पोको पारिएको अवस्थामा मृत भेटिएकी २१ वर्षीया रमा तिवारीको हत्या शारीरिक सम्पर्कका लागि पैसाको विवाद हुँदा भएको खुलेको छ । नेपाल प्रहरीको संयुक्त टोलीले गरेको सघन अनुसन्धानबाट हत्यामा संलग्न भारत बिहार (अररिया ग्राम पञ्चायत) घर भई हाल दमक– ५ बस्ने ३३ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार मृतक तिवारी र आरोपित पण्डित एक–अर्काका लागि अपरिचित थिए । १३ जेठमा राति घरबाट निस्किएकी रमाको दमक– ९ स्थित चियादोकान चोकमा पण्डितसँग भेट भएको थियो । बाटोमा भेटिएपछि दुवैबिच शारीरिक सम्पर्कका लागि सहमति भयो । पण्डितले एटिएमबाट पैसासमेत निकाले । त्यसपछि उनीहरू दमक– ५ मा रहेको एउटा झाडीमा पुगेका थिए । त्यसपछि रमाले पूर्वसहमतिविपरीत थप पैसा मागेपछि दुईबिच विवाद सुरु भएको पण्डितले प्रहरी बयानमा बताएका छन् । सोही विवाद बढ्दै जाँदा पण्डितले घाँटी थिचेर रमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो क्रूर हत्याकाण्डको रहस्य सुल्झाउन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली खटिएको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको कमान्डमा खटिएको टोलीले पण्डितलाई उनकै डेराबाट पक्राउ गरेको हो । पक्राउ परेका पण्डितविरुद्ध ज्यानसम्बन्धी कसुर र जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत झापाबाट पाँचच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१३ जेठको राति करिब ११ बजे हत्या गरेपछि पण्डित शव छाडेर आफ्नो डेरामा पुगेका थिए । शव व्यवस्थापनका लागि उनले डेराबाट बोरा र पाइप लिएर आए । प्रहरीका अनुसार शव लान उनले मोटरसाइकलसमेत परिवर्तन गरेका थिए । मध्यरातको करिब १२ बजे उनले रमाको शवलाई बोरामा पोको पारी घटनास्थल (दमक–५) बाट करिब १५ किलोमिटर दक्षिणमा पर्ने दमक– १० स्थित रतुवाखोलामा पुर्याएर फालेका थिए । १६ जेठमा शव सडेर दुर्गन्धित अवस्थामा फेला परेको थियो ।

हत्याको भोलिपल्टै मन्दिरमा माफी, शव भेटिएकै दिन भारत फरार
अनुसन्धानका क्रममा आरोपीको अनौठो व्यवहारसमेत फेला परेको छ । मध्यरातमा हत्या गरेका पण्डित ‘प्रायश्चित’ गर्न भोलिपल्ट अर्थात् १४ जेठ बिहान साढे ६ बजे नै दमक– ६ स्थित पशुपति मन्दिर पुगेर माफी मागेका थिए । उनी मन्दिर पुगेको दृश्य सिसिटिभी फुटेजमा समेत कैद भएको छ । १६ जेठमा रतुवाखोलामा शव भेटिएकै दिन उनी लुक्नका लागि भारत पुगेका थिए । तर, सुरक्षित ठानी दुई दिनपछि पुनः दमकस्थित आफ्नै डेरामा फर्किएका उनलाई प्रहरीले बिहीबार केरकारका लागि नियन्त्रणमा लिएको हो ।

See More On

सुझावित समाचार