परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भारत भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल तथा भुटान हेर्ने अतिरिक्त सचिव मनु महावर, नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा तथा अन्य अधिकारीहरूले स्वागत गरेका थिए । खनाल भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् ।
खनालले शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेट हुने चर्चा भए पनि दुवै पक्षले त्यसको औपचारिक पुष्टि गरेका छैनन् ।
शुक्रबार नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले नेपाल–भारत सम्बन्धका सबै समसामयिक विषयमा खुला छलफल हुने बताए । ‘अहिले उठेका सबै विषयमा छलफल हुन्छ । लामो समयपछि दुई देशबिच उच्चस्तरीय औपचारिक भ्रमण हुँदै छ । हाम्रो प्राथमिकताका सबै विषयहरूमा संवाद हुन्छ,’ परराष्ट्रमन्त्री खनालले भने ।
सीमासम्बन्धी विषय पनि एजेन्डामा रहने हो भन्ने प्रश्नमा उनले भने, ‘म कुनै विशिष्ट विषयमा अहिले टिप्पणी गर्दिनँ, तर उठेका सबै विषयमा खुला संवाद हुनेछ ।’ नेपाल र भारतबिच विद्यमान ३० भन्दा द्विपक्षीय संयन्त्रको पुनरवलोकन तथा सक्रिय बनाउनेलगायत दुई देशबिच जलविद्युत्, पर्यटन, सीमापार कनेक्टिभिटी, नेपाललाई भारतबाट अतिरिक्त हवाई प्रवेश मार्गलगायतका विषयमा छललफल गर्ने एजेन्डा लिएर परराष्ट्रमन्त्री खनाल दिल्ली पुगेका छन् ।
दिल्ली विमानस्थलमा नेपाली समुदायका प्रतिनिधिहरूसँग भेट गर्दै खनालले आफ्नो भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउनु रहेको बताए । ‘निर्वाचनपछि नेपालमा बलियो सरकार बनेको छ । लामो समयदेखि उच्चस्तरीय भेटघाट हुन सकेको छैन । उद्योग, व्यापार, प्रविधि, जलविद्युत् तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा हामी छलफल गर्नेछौँ,’ उनले भने ।
परराष्ट्र स्रोतका अनुसार खनालले यसअघि नेपाल–भारत सहकार्य र साझेदारीसँग सम्बन्धित सरोकारवाला सबै मन्त्रालयसँग छलफल गरेका छन् । ‘विगतमा सहमति भएका र कार्यान्वयनमा गएका परियोजनाहरूको समीक्षा गर्ने तथा दुई देशबिच सम्बन्धका सबै पक्षहरूबारे छलफल गर्ने तयारी साथ परराष्ट्रमन्त्रीज्यू जानुभएको छ,’ एक उच्च कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबिच विकास साझेदारी, लगानी, जनस्तरको सम्बन्धलगायत बृहत् कार्यसूचीमा दुई परराष्ट्रमन्त्रीहरूबिच छलफल हुने बताएका छन् । ‘नेपालसँग हाम्रो विकास साझेदारीदेखि जनता–जनताबिचको सम्बन्ध र व्यापार तथा लगानीसम्मको बृहत् कार्यसूची (एजेन्डा) रहेको छ ।
दुई परराष्ट्रमन्त्रीहरूबिच भेटवार्तामा यी सबै सम्बन्धबारे छलफल हुनेछ । हाम्रोतर्फबाट भन्दा नेपालसँग रहेको यो बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउन हामी उत्सुक छौँ,’ शुक्रबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जैसवालले भने ।
नेपाल र भारतबिच सम्बन्धका सबै पक्षबारे छलफल गर्ने संयुक्त आयोगको नेतृत्व पनि परराष्ट्रमन्त्रीहरूले गर्दै आएका छन् । तर, यसपटक संयुक्त आयोगको बैठक नभएर परराष्ट्रमन्त्री खनालको औपचारिक द्विपक्षीय भ्रमण हो । नेपाल र भारतबिच पछिल्लो (सातौँ) संयुक्त आयोगको बैठक ०८० पुस २० मा नेपालमा भएको थियो । बैठककै क्रममा नेपालबाट भारतमा दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।