निर्वाचनमा अन्तर्घात गरेको आरोपमा सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीले सप्तरीका १० जना स्थानीय जनप्रतिनिधिलाई पदमुक्त गर्न केन्द्रमा सिफारिस गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै पार्टीले छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादवसहित विभिन्न पालिकाका जनप्रतिनिधिलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेको हो।

छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादवसहित छिन्नमस्ता गाउँपालिका– १ का ललन यादव र वडा नम्बर ६ का कपलेश्वर साहलाई कारबाहीका लागि सिफारिस गरिएको छ। त्यसैगरी राजविराज नगरपालिका– ७ का सुभाष यादव, वडा नम्बर ८ का जयनारायण मण्डल र वडा नम्बर १० का गंगाराम खंग पनि पदमुक्त सिफारिसमा परेका छन्।

विष्णुपुर गाउँपालिका– १ का बलराम यादव, रुपनी गाउँपालिका– २ का सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका– ४ का मुनिलाल मुखिया र सुरुंगा नगरपालिका– १ का छत्रबहादुर राउतलाई समेत पार्टीले कारबाहीका लागि सिफारिस गरेको पार्टीका केन्द्रीय सदस्य गोविन्द न्यौपानेले जानकारी दिए।

उनले निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध काम गरेको प्रमाणका आधारमा उनीहरूलाई पदमुक्त गर्न कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरिएको बताए। उनका अनुसार अब निर्वाचन आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

सुझावित समाचार