जेम्स र डिएभी क्वार्टरफाइनलमा

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो एसियन इ–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा जेम्स स्कुल र डिएभी सुशील केडिया विश्व भारती स्कुल क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। रत्नराज्य माध्यमिक विद्यालयले पनि पहिलो जित दर्ता गरेको छ।

शुक्रबार समूह ‘जी’को विजेता बन्दै जेम्स स्कुल अन्तिम आठमा पुगेको हो। तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा जेम्सले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको लिभरपुल १३ ओभरमा ५२ रनमै अलआउट भयो। उसका लागि युवराजकुमार झाले सर्वाधिक १९ रन बनाए भने प्रणव धामीले नाै तथा अभिषेक चौहानले सात रन जोडे।

जेम्सका लागि स्वराज चौलागाईंले तीन विकेट लिए। प्रगव पाण्डेले दुई विकेट हात पारे भने प्रचेत लाखोटिया, अञ्जन झा र आरव ज्ञवालीले समान एक–एक विकेट लिए।

५३ रनको सामान्य लक्ष्य पछ्याएको जेम्सले मात्र चार ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो। स्वराज चौलागाईं ११ बलमा चार चौकासहित २० रनमा अविजित रहे भने सुदिश पौडेल १३ बलमा १६ रन जोड्दै अविजित रहे। स्वराज चौलागाईं ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

यता, त्रिवि क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा डिएभीले रेडियन्ट रिडर्स स्कुललाई १७८ रनले पराजित गर्दै समूह ‘ए’को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो। डिएभीले लगातार दोस्रो जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २५८ रनको विशाल योगफल खडा गरेको थियो। प्रसिद्ध जैसीले ५४ बलमा १७ चौका र आठ छक्कासहित १५२ रनको विस्फोटक इनिङ्स खेले। आरुष झाले अविजित ८० रन बनाए भने सत्याम बस्नेतले १५ रन जोडे।

२५९ रनको लक्ष्य पछ्याएको रेडियन्ट १८.३ ओभरमा ८० रनमा समेटियो। अनिल गुरुङले २७ तथा अनिलकुमार शाहले १७ रन बनाए।

डिएभीका कुन्जन आचार्यले तीन विकेट लिए। तनिश शाह र प्रसिद्ध जैशीले समान दुई–दुई विकेट लिए भने कमल शाही र केशव अग्रवालले एक–एक विकेट हात पारे। प्रसिद्ध जैसी ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न अर्को खेलमा रत्नराज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेसनल स्कुललाई ९१ रनले पराजित गर्दै पहिलो जित दर्ता गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको रत्नराज्यले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९३ रन बनाएको थियो। एसिक चन्दले ५२ बलमा ११ चौका र एक छक्कासहित ८१ रन बनाए भने करण चौधरीले ६६ रनको महत्त्वपूर्ण योगदान दिए। उदयकुमार मण्डलले २४ रन जोडे।

जवाफमा संस्कृति निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०२ रनमा सीमित भयो। गर्भ बहेती ४२ रनमा अविजित रहे भने दीपांशामान श्रेष्ठ १० रनमा अविजित रहे।

रत्नराज्यका शौरभ यादव र दीपेश थापाले समान दुई–दुई विकेट लिए भने विकेश तामाङले एक विकेट हात पारे। एसिक चन्द ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

सुझावित समाचार