हिसाब मिलान नगर्ने सहकारी सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण
  • विवरण सार्वजनिकपछि पनि सम्पर्कमा नआउने सञ्चालकको नामावली कालोसूचीमा राखिने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका २३ सहकारीका २४९ सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ । सहकारीको रकम अपचलन गर्ने, तर बचतकर्ताको रकम फिर्ता गर्न अटेर गरेपछि समितिले उनीहरूको तीनपुस्ते विवरण सार्वजनिक गरेको हो । 

समितिले विवरण सार्वजनिक गरिएका सबै सञ्चालकलाई यथाशक्य चाँडो सम्पर्क आउन र हिसाब मिलान गर्न भनेको छ । विवरण सार्वजनिकपछि पनि सम्पर्कमा नआउने सञ्चालकको नामावली कालोसूचीमा चढाउने तयारी समितिको तयारी छ । साथै, सञ्चालकहरूका नाताभित्र रहेकाहरूको समेत सम्पत्ति छानबिन पनि हुनेछ । कैफियत देखिए सबैको सम्पत्ति जफत गरिने र बिक्री गरेर बचतकर्ताको रकम फिर्ता गरिने समितिले जनाएको छ । 

समितिका सदस्यसचिव रविन ढकालले हिसाब मिलान गर्न नआउने सहकारीका सञ्चालकको तीनपुस्ते विवरण सार्वजनिक गरिएको बताए । ‘समितिले २३ सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकको बैंक खाता, राहदानी मात्र नभई सम्पत्तिसमेत रोक्का गरिएको छ । तैपनि उहाँहरू हिसाब मिलान गर्न आउनुभएन । त्यसैले तीनपुस्ते विवरण सार्वजनिक गरिएको हो । उहाँहरूलार्ई अहिले पनि हिसाब मिलान गर्न आउन भनिएको छ । यदि नआएमा अब भने कानुनले दिएको अधिकार प्रयोग गरी कारबाही प्रक्रिया अघि बढ्नेछ,’ उनले भने ।

समितिका अनुसार २३ सहकारीको मात्रै बचत फिर्ता मागदाबी भएको रकम ४५ अर्ब नाघेको छ । रकम मागदाबी अनलाइनमार्फतबाट पनि भइरहेको र त्यसको समेत विवरण जोड्दा ५५ अर्ब पुग्ने समितिले जनाएको छ । तर, सञ्चालकबाट अहिले दैनिक एक करोड रुपैयाँको दरमा मात्रै रकम संकलन भइरहेका छन् । यो रकमले बचतकर्ताको माग धान्न सक्दैन । सोही कारण कडा कदम चाल्न लागिएको ढकालले बताए । ‘बचतकर्ताले मागदाबी गरेको रकम ४५ अर्ब नाघिसकेको छ । अनलाइनबाट आइरहेको विवरण जोड्दा ५५ अर्ब नाघ्ने देखिन्छ । हाल दैनिक एक करोडको हाराहारीमा मात्रै संकलन भइरहेको छ । यसले बचतकर्ताको माग सम्बोधन नगर्ने भएकाले कानुनले दिएको अधिकार प्रयोग गरी कडा कदम चाल्न लागिएको हो,’ उनले भने ।

समितिले चक्रीय कोषमार्फत बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिसकेको छ । सरकारले चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ समेत जारी गरिसकेको छ । सोही कार्यविधिअनुसार बचतकर्ताको रकम फिर्ता गर्ने तयारी छ । कोषमा सरकारले पहिलो चरणमा २५ करोड रुपैयाँ निकासा गरेको छ । तर, त्यो रकम अझै पनि समितिको खातामा आइसकेको छैन । समितिले कोषमा जम्मा भएको सोही रकमबाट बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्नेछ । बाँकी ऋणीबाट ऋण असुल्दै दिनेछ ।

See More On

सुझावित समाचार