- जुनियरतर्फ राष्ट्रिय कीर्तिमान राख्ने क्रममा गण्डकीका अतीत थापा, आर्यन रानामगर, अंकित रानाभाट र सुदीप भण्डारीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा पार गरे
गण्डकी प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । दशरथ रंगशालमा बिहीबार अतीत थापा, आर्यन रानामगर, अंकित रानाभाट र सुदीप भण्डारी सम्मिलित गण्डकीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेन्डमा पूरा गर्दै नयाँ रेकर्ड राखेका हुन् । यसअघि ३ मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमतीका प्रवीण रानामगर, हस्त सुनार, नीरज शाह र सन्तबहादुर दराईको नाममा थियो । उनीहरूले गत संस्करणमा कीर्तिमान बनाएका थिए ।
सोही स्पर्धाको छात्रामा बागमतीका सुरुचि मोक्तान, अनिशा थारू, भगवती खड्का र शर्मिला विक पहिलो भए । बागमतीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेन्डमा पूरा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । सोही स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारू पहिलो भइन् । छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । यसैगरी, छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले २ मिनेट ००.२ सेकेन्ड समय निकाले ।
तेक्वान्दोमा दुई स्वर्ण
पहिलो दिन बिहीबार तेक्वान्दोको दुई स्वर्णको टुंगो लागेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भइरहेको प्रतियोगितामा छात्र र छात्रा एकल पुम्सेको स्वर्ण टुंगो लागेको हो । छात्रमा गण्डकीका सचिन विक पहिलो भए । उनले ७.४१६ अंक जोडे । बागमतीका जेसुसु खत्री दोस्रो भए । छात्रामा ७.४६६ अंकका साथ कोशीकी युमी राईले स्वर्ण जितिन् । गण्डकीकी प्रतीक्षा राणाले रजत जितिन् । तेक्वान्दोमा १२ स्पर्धा समावेश छन् । यसैगरी, पहिलो दिन काराँतेअन्तर्गत आठ स्वर्णको छिनोफानो भएको छ । १२ स्पर्धा रहेको कराँतेमा सुदूरपश्चिमले सर्वाधिक तीन स्वर्ण जितेको छ । कोशी र लुम्बिनीले समान दुई स्वर्ण जिते । बागमतीले एक स्वर्ण जितेको छ । यसैगरी, राष्ट्रिय टेबुलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको कबड्डीको छात्र र छात्राको सेमिफाइनल समीकरण तयार भएको छ ।