रास्वपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताएका छन् । नयाँदिल्लीस्थित आइटिओको पेरेलाल भवनमा बिहीबार आयोजित नेफाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत आएको बताए । साथै, उनले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गरे ।
रास्वपा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने औपचारिक भ्रमणका क्रममा सोमबार दिल्ली पुगेका सभापति लामिछानेले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तथा सोमबार गृहमन्त्री अमित साह, विदेशमन्त्री डा. एस जयशंकर र भाजपा अध्यक्ष नितिन नवीनसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
‘यसबिचमा ध्यानपूर्वक नेपालका कुराहरू सुनिए, मैले विभिन्न बैठकमा नेपालसँग सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता प्राप्त गरेँ,’ लामिछानेले समर्थकहरूको समूहलाई गरेको सम्बोधनमा भने, ‘म प्रसन्न भएर आशा बोकेर फर्किँदै छु । आशावादी भएर अगाडि बढ्दै छु । नेपाल समृद्धिको यात्रामा भारतसँगै अघि बढ्नेछ । अब समृद्धिको ढोका खुल्यो ।’
पार्टी सभापतिका रूपमा दिल्ली भ्रमणका क्रममा प्राप्त गरेको सम्मान र सद्भावलाई नेपाली जनताको सम्मान भन्दै लामिछानेले भने, ‘हामीले पाएको सम्मान तपाईंहरूमाथि भारत सरकारले गरेको हो । यो सम्मानका लागि भारत सरकार र भाजपालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । अब हामी सम्मानित मात्रै भएर हुँदैन, समृद्ध पनि हुनुपर्छ ।’
सभापति लामिछानेले विगतमा राजनीतिको ढोका खोल्न नेपालबाट भ्रमणहरू भएको दाबी गर्दै आफू समृद्धिको ढोका खोल्न आएको बताए । ‘नयाँदिल्लीमा राजनीतिका ढोका खोल्नका लागि धेरै मानिसहरू आए । म यसपटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ लामिछानेले भने, ‘समृद्ध नेपालको एउटा सपना हामीले सिंगो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर आएको हुँ ।’