अंग्रेजको शासनकालमा भारतको एक विद्यालयमा सरकारी निरीक्षक पुगे । उनले प्रधानाध्यापकसित एउटा कुनै कक्षाका विद्यार्थीको क्षमता जाँच गर्न चाहेको बताए । प्रधानाध्यापकले पनि ती अधिकारीको इच्छाअनुसार कक्षा ४ का विद्यार्थीको जाँच गर्ने व्यवस्था मिलाइदिए । ती अधिकारीले विद्यार्थीलाई केही अंग्रेजी शब्दको हिज्जे लेख्न लगाए । विद्यार्थीले फटाफट लेख्दै गए । तर, कक्षाको एउटा विद्यार्थीले भने ती अधिकारीले सोधेको ‘केटल’ शब्दको हिज्जे लेख्न सकेनन् । उनले गलत हिज्जे लेखेको प्रधानाध्यापकले देखे । उनले ती छात्रलाई सँगैको साथीले लेखेको सही हिज्जे नक्कल गर्न संकेत गरे । तर, ती विद्यार्थीले अर्काको नक्कल गरेनन् । आफूलाई जे आयो, त्यही लेखे ।
एकछिनपछि सरकारी अधिकारी फर्किए । उनी गइसकेपछि प्रधानाध्यापकले ती छात्रलाई आफ्नो कार्यकक्षमा बोलाएर हप्काउँदै भने, ‘मोहन ! तैँले जिन्दगीमा केही गरेर खाने भइनस् । झन् मैले तँलाई हिज्जे गलत भयो, छेउको साथीको कापी हेरेर मिला भनेर संकेत गरेको होइन ? तर, तँ बुद्धुले त्यति पनि गर्न सकिनस् । तैँले जीवनमा के गरिखालास् खै ?’ बालक मोहनले शान्त हुँदै भने, ‘हो गुरु, हजुरले मलाई साथीको हेरेर मिलाउन संकेत गर्नुभएको मैले बुझेको थिएँ । तर, त्यसरी साथीको नक्कल गर्नु गलत कर्म हो । म कसरी त्यस्तो कर्म गर्न सक्छु ? त्यसैले मैले हजुरले भन्दाभन्दै पनि साथीको नक्कल गर्नु उचित ठानिनँ । मैले हजुरको अपमान गरेको भए, मेरो कारणले हजुरको चित्त दुखेको भए म माफी चाहन्छु ।’ त्यसरी अरूको नक्कल गर्नुलाई गलत कर्म मान्ने बालक मोहन अरू कोही नभई सत्य र अहिंसाका पुजारी मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी थिए ।