जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस, कानुनको प्रभावकारी कार्यान्वयनमा जोड

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

२०६३ मा तत्कालीन सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष मनाइने ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ मा दलित अगुवाहरूले मौजुदा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। 

छुवाछूत मुक्त राष्ट्र घोषणालगत्तै जातीय विभेदविरुद्ध ऐन जारी भए पनि सिराहाको भगवानपुरमा गाउँपालिका अध्यक्ष स्वयंले सार्वजनिक भोजमा दलितहरूमाथि जातीय छुवाछूत गरेको, औरही गाउँपालिकामा महायज्ञस्थल चोख्याउन भन्दै वर्षौंदेखिको थातथलोबाट डोम परिवारको घर भत्काएर उठिबास गरएको, नरहा गाउँपालिका- १ गौराहामा दलितहरू हिँड्दै आएको बाटोमा काँडेबार लगाएकोजस्ता घटनाहरू भएकाले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको हो।

सिरहाको गोलबजारमा आयोजित मधेसी दलित समुदायले भोग्नु परेका समस्या तथा समाधानका लागि सरोकारवालाहरुको भूमिका विषयक अन्तर संवादमा विभिन्न गाउँबाट आएका दलित अगुवाहरुले जातीय विभेद र छुवाछूतसँग सम्बन्धित मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन मात्र भयो भनेपनि घटना न्यूनीकरण हुने धारणा व्यक्त गरे । 

कार्यक्रममा उनीहरुले जातीय विभेद र छुवाछूतका कारण भोग्नुपरेका पीडा र समस्याहरू सुनाउँदै भने ‘चुनावका बेला दलितका लागि यो गर्छौं, त्यो गर्छौं भन्दै दलितका मुद्दा लिएर घर–घर मत माग्न पुग्ने नेताहरू सत्तामा पुगेपछि आफैंले गरेको बाचा बिर्सिन्छन् ।’ जनप्रतिनिधि र अगुवाहरुकै कारणले आफूहरु विभेदको शिकार बन्नुपरेको गुनासो गर्दै उनीहरुले आफूहरूमाथि विभेद हुँदा प्रहरी प्रशासनले गम्भीरतापूर्वक नलिने, प्रहरी प्रशासनले पनि अपवादबाहेक प्रायः  जनप्रतिनिधि र प्रभावशाली व्यक्तिहरूकै कुरा सुन्ने र उनीहरूकै पक्षमा काम गर्ने गरेको आरोप समेत लगाए ।

धर्मको नाममा राजनीतिको अन्त्यसँगै छुवाछूत हट्छ

दलित विकास मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्व विधायक तथा दलित नेता असर्फी सदाले मौजुदा कानुन बमोजिम जातीय विभेद सम्बन्धी घटनाका पीडितहरु कानुनी उपचारका लागि जान खोज्दा राजनीतिक र सामाजिक दबाबले बाहिर निस्किनै नसक्ने बताए । ‘राजनीतिक सामाजिक दबाबको बावजुद सम्बन्धित ठाउँसम्म पुग्यो नै भनेपछि जाहोरी दर्ता गराउन नै अर्को संघर्ष गर्नुपर्छ’ उनले भने ‘कानुन कार्यान्वयन गर्ने निकायका व्यक्तिहरुले नै हतोत्साही बनाउँछन्, अनि कसरी हुन्छ जातीय विभेद र छुवाछूत सम्बन्धी घटना अन्त्य ?’ 

अन्तर संवादमा मधेश प्रदेशका पूर्व राज्यमन्त्री सुरेश मण्डलले धर्मको नाममा भइरहेको राजनीतिको अन्त्यसँगै जातीय विभेद तथा छुवाछूतको पनि अन्त्य हुने बताए । समाजमा व्याप्त  जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि सबै पक्ष जिम्मेवार र संवेदनशील हुनुपर्ने औंल्याउँदै उनले भने ‘धर्म र जातको नाममा गरिने राजनीतिक अभ्यासले सामाजिक विभाजनलाई बढावा दिएकाले धर्मको नाममा भइरहेको राजनीतिको अन्त्य भएसँगै समानता, सामाजिक सद्भाव र जातीय विभेद मुक्त वातावरण निर्माण हुन सक्छ ।’ दलित समुदायले अझै पनि सामाजिक, आर्थिक तथा राजनीतिक विभेद भोगिरहेको उल्लेख गर्दै उनले अधिकार सुनिश्चितताका लागि राज्य, राजनीतिक दल तथा नागरिक समाजले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

विद्यार्थीहरूको वक्तृत्वकला प्रतियोगिता
छुवाछूत उन्मूलन दिवसको अवसरमा गोलबजार र धनगढीमाई नगरपालिकाको समन्वयमा गोलजबारस्थित जनता मा.वि. (प्राविधिक धार) मा सामाजिक रुपान्तरणका लागि ‘जातीय विभेदको अन्त्य किन र त्यसका लागि तपाई‌ंको के भूमिका हुन सक्छ?’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ।

नेपालमा समावेशी तथा शान्तिपूर्ण समुदायका लागि सशक्तिकरण परियोजनाअन्तर्गत कुर्वे उष्ट्रोको प्राविधिक सहयोग र दलित महिला केन्द्र नेपालको आयोजनामा धनगढीमाई र गोलबजार नगरपालिका तथा अर्नमा गाउँपालिकाअन्तर्गतका १४ वटा मा.वि.का १४ जना विद्यार्थी सहभागी रहेको जिल्ला संयोजक आनन्द पाख्रिनले बताए । 

उनका अनुसार प्रतियोगितामा निरुता सिंह (जनता मा.वि. प्राविधिक धार) गोलबजार, छलीमाया मगर (सरस्वती मा.वि प्राविधिक धार) जमदह, मन्दिपाकुमारी राय (मा.वि. कुर्वा हनुमाननगर) र काजल यादव (जनता मा.वि. प्राविधिक धार) तीनकोनी क्रमशः पहिलो दोस्रो, तेस्रो र चौथो भएका छन् ।

प्रतियोगितामा प्रथमदेखि चौथो स्थानसहित विजयीहरूलाई क्रमशः सात, पाँच, तीन र दुई हजार रुपैयाँ नगदसहित स्टेसनरीको प्याकेज प्रदान गरिएको केन्द्रले जनाएको छ।

सुझावित समाचार