ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकमद्दतमा नेपालले मलेसियालाई एसियाली खेलकुद छनोटमा २७६ रनको लक्ष्य दिएको छ ।
बिहीबार सिंगापुरमा भएको खेलम टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७५ रन बनाएको हो ।
नेपालको इनिङ्समा ओपनर कुशलले ५४ बलमा १२६ रन बनाए । साइद अजिजको बलमा पवनदीप सिंहबाट क्याच हुनुअघि उनले १४ चौका र आठ छक्का हिर्काएका थिए । यसअघि उनले ४४ बलमा शतक बनाएका थिए । कुशल लगातार शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि चीनसँग पनि उनले १२९ रन बनाएका थिए । पछिल्लो एक महिनामा उनले तेस्रो शतक बनाएका छन् । यसअघि एकदिवसीय खेलमा कीर्तिपुरमै अमेरिकाविरुद्ध अविजित १२० रन बनाएका थिए । उनी नेपालका लागि लगातार तीन शतक बनाउने पहिलो खेलाडी भएका छन् । यस्तै, उनले टी–२० आईमा दुई सय चौका र एक सय छक्का पनि पूरा गरेका छन् ।
त्यस्तै, ओनपर आसिफ शेखले २४ बलमा ६८ रन बनाए । वीरन्दीप सिंहको बलमा साइद अजिजबाट क्याच हुनुअघि उनले पाँच चौका र सात छक्का हानेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन जोडे । सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रनको योगदान गरेका हुन् । पूर्वकप्तान रोहितकुमार पौडेल भने डक भए । कुशल मल्ल नाै रनमा अविजित रहे ।
पहिलो विकेटको लागि आसिफ र कुशलबिच ५२ बलमा १३४ रनको साझेदारी भएको थियो । तेस्रो विकेटका लागि भुर्तेल र दीपेन्द्रबिच पनि २२ बलमा ५१ रनको दोस्रो ठुलो साझेदारी भएको हो ।
मलेसियाका वीरन्दीपले सर्वाधिक तीन तथा साइद अजिज र विजय उनीले समान दुई विकेट लिएका थिए ।
नेपाल र मलेसियाले यसअघि नै एसियाली खेलकुदमा स्थान बनाइसकेका छन् । चीन भने लगातार पराजित हुँदै बाहिरिसकेको छ । नेपाललाई आजको खेल जित्दै समूह विजेता बन्ने अवसरसमेत रहेको छ ।