एसिसी महिला प्रिमियर कप : कतारमाथि नेपालको आठ विकेटको जित

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

नेपालले एसिसी महिला प्रिमियर कपमा बुधबार कतारलाई आठ विकेटले हराएको छ । मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै २ अंक जोडेको छ ।

टस हारेर ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर जित निकाल्यो । एसिया कपको छनोटको आधार रहेको प्रतियोगितामा नेपालसहित १८ राष्ट्र सहभागी छन् । नेपालले बिहीबार दोस्रो खेलमा भुटानको सामना गर्नेछ । 

नेपालले समूह चरणको अन्तिम खेलमा २३ जेठमा हङकङसँग खेल्नेछ । सहज लक्ष्य पछ्याएको नेपालका लागि विन्दु रावलले ३० बलमा चार चौकासहित ३३ रन बनाइन् । उपकप्तान पूजा महतोले २६ बलमा चार चौकासहित अविजित २८ रनको योगदान दिइन् । कप्तान इन्दु बर्माले ६ रन बनाइन् । 

नेपालको जितमा पूर्वकप्तान रुविना क्षेत्रीले उत्कृष्ट बलिङ गरेकी थिइन् । उनले आठ रन दिएर सर्वाधिक तीन विकेट लिइन् । यसै प्रदर्शनका कारण उनी खेलकै म्याच अफ दी म्याच भइन् । 

यसैगरी, कविता कुँवरले नौ रनमा एक विकेट र रिया शर्माले ६ रनमा एक विकेट लिए । कतारका लागि ओपनर गितरुडु चन्डिरुले १९ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक २५ रन बनाइन् । 

सुझावित समाचार