प्रहरीले छिमेकी मुलुक भारततर्फ चोरी निकासी गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा १९ लाख ६० हजार रुपैयाँबराबरको फर्सीको बिउ बरामद गरेको छ। सिराहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सीका हरिदेव दासको घरको बरन्डामा ७० वटा बोरामा प्याक गरी राखिएको फर्सीको बिउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार चोरी निकासी गरी भारततर्फ लैजान फर्सीको बिउ राखिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लुकाएर राखिएको बिउ बरामद गरेको हो। बरामद गरिएको फर्सीको बिउ आवश्यक कारबाहीका लागि मंगलबार माडरस्थित भन्सारमा दाखिला गरिएको उनले बताए।
फर्सीको बिउ निर्यातमा प्रतिबन्ध नभए पनि नेपाल भारतबिच कृषि बिउ तथा वनस्पतिजन्य वस्तुको व्यापारका लागि क्वारेन्टाइनलगायतका प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने र भारतको भन्सार विन्दुमा तोकिएको शुल्क बुझाउनुपर्ने हुनाले व्यापारीले चोरी निकासी गरी लैजान खोजेको हुन सक्ने जनाइएको छ।