बागमती कप टी–२० : भक्तपुरको सानदार जित, नुवाकोट सात विकेटले पराजित

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

हेटौँडा– ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा भक्तपुरले नुवाकोटलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा महत्त्वपूर्ण जित हासिल गरेको छ । 

क्रिस कार्कीको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतमा भक्तपुरले एक ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।
टसपछि पहिले ब्याटिङ गरेको नुवाकोटले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको थियो । नुवाकोटका लागि राजेश रिमालले उत्कृष्ट प्रदर्शन गर्दै ४४ बलमा ७१ रनको आकर्षक पारी खेले । उनले इनिङ्स सम्हाल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

यस्तै, योगेश बडर भट्ट क्षेत्रीले २४ रनको योगदान दिए भने रोशन बिकेले १७ रन जोड्दै मध्यक्रमलाई साथ दिए । अन्य ब्याटरले अपेक्षाअनुसार ठुलो योगदान दिन नसके पनि राजेशको अर्धशतकले नुवाकोटलाई प्रतिस्पर्धात्मक अवस्थामा पुर्याएको थियो ।

भक्तपुरका बलरहरूले भने नियमित अन्तरालमा विकेट निकाल्दै नुवाकोटलाई ठुलो स्कोरतर्फ जानबाट रोके । शिवम तिवारी र अविनाश बस्यालले समान दुई–दुई विकेट लिए भने सक्रियप्रताप कार्की र क्रिस कार्कीले समान एक–एक विकेट हात पारे ।

१६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भक्तपुरका ओपनरहरूले सुरुदेखि बलियो सुरुवात दिलाएपछि टोलीले लक्ष्य पछ्याउने क्रममा दबाब महसुस गर्नुपरेन ।
भक्तपुरको जितका प्रमुख नायक क्रिस कार्की बने । उनले ५७ बलमा अविजित ८१ रनको सानदार पारी खेल्दै टोलीलाई सहज जिततर्फ डोर्याए । संयमित र आक्रामक ब्याटिङ गरेका कार्कीले मैदानका चारैतिर आकर्षक प्रहार गर्दै नुवाकोटका बलरमाथि दबाब कायम राखे ।

उनलाई साैरव साखाकर्मले राम्रो साथ दिए । साैरवले २८ बलमा ३९ रन बनाउँदै दोस्रो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरे । रिङजिन लामाले १६ रन तथा शिवम तिवारीले अविजित १६ रनको योगदान दिएपछि भक्तपुरले १९ ओभरमै तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

नुवाकोटका लागि विधान खतिवडा, गणेश गौतम र अशोक पौडेलले समान एक–एक विकेट लिए पनि टोलीलाई खेलमा फर्काउन पर्याप्त हुन सकेन ।
ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको भक्तपुरले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ ।

सुझावित समाचार