युवाहरूमा लागुऔषध कारोबार र प्रयोगको डरलाग्दो विस्तारलाई स्पष्ट पार्ने प्रमाण सोमबार गोदावरी जंगलमा प्रहरी अपरेसनमा भेटिएको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरोको टोलीले गोदावरी नगरपालिका– २, बिशंखुनारायण मन्दिरनजिकै जंगलमा पतकरले छोपेर भण्डारण गरेको अवस्थामा दुई लाख १० हजार ६४० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको हो । कारोबार गर्ने समूहकै व्यक्तिलाई पक्रेर अनुसन्धान गरेपछि लागुऔषध भण्डार फेला परेको हो । प्रहरी अधिकारीका अनुसार लागुऔषध अपरेसनमा यो बरामद अहिलेसम्मकै ठुलोमध्येको हो ।
सूचनाका आधारमा ब्युरोले १२ जेठमा गिरोहका वीरध्वज तामाङलाई पक्राउ गरी ठिमी वृत्तमा राखेर अनुसन्धान गरेको थियो । लागुऔषधका मुख्य धनी काभ्रेपलाञ्चोकका ३८ वर्षीय शान्तबहादुर तामाङ भएकोसमेत खुलेको छ । उनलाई पनि सोमबार सशस्त्रले पक्राउ गरिसकेको छ । उनी ट्याक्सीचालक हुन् ।
तामाङको प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसमेत बरामद गरी नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले बताए । अनुसन्धानका क्रममा ट्याक्सीचालक तामाङले उक्त लागुऔषध कलंकीबाट गोदावरी जंगलमा लगेर लुकाएको खुलेको छ । उनीसहित धेरै व्यक्तिको संलग्नतामा लागुऔषध ओसारपसार तथा कारोबार भएको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।