विद्यालय छात्रवृत्तिमा राजधानीका दुई महानगर
- काठमाडौं महानगरमा स्पष्ट मापदण्ड, छनोट समिति र प्रत्यक्ष अनुगमनमार्फत पारदर्शी हुँदा वास्तविक विपन्न, असहाय र जेहेनदार विद्यार्थीलाई अवसर छ । तर, ललितपुर महानगरमा भने छात्रवृत्ति वितरण प्रक्रिया अझै अपारदर्शी र विद्यालयको निर्णय तथा वडास्तरको सिफारिसमा निर्भर छ ।
- यस वर्ष काठमाडौंमा १ देखि १० सम्म २० हजार पाँच सयहाराहारीलाई छात्रवृत्ति प्रदान हुँदै, ललितपुरमा करिब १३ हजार विद्यार्थीले छात्रवृत्ति सुविधा पाउन सक्ने कोटा भए पनि छनोट प्रक्रियामा प्रश्न
काठमाडौं महानगरपालिकाले विद्यालयस्तरको छात्रवृत्ति वितरण स्पष्ट मापदण्ड, छनोट समिति र प्रत्यक्ष अनुगमनमार्फत पारदर्शी बनाउँदै हजारौँ विपन्न तथा जेहेनदार विद्यार्थीलाई निजी विद्यालयमा निःशुल्क अध्ययनको अवसर उपलब्ध गराइरहेको छ । तर, त्यससँगै जोडिएको ललितपुर महानगरपालिकामा भने छात्रवृत्ति वितरण प्रक्रिया अझै अपारदर्शी र विद्यालय तथा वडास्तरको सिफारिसमा निर्भर छ ।
ललितपुरमा निजी विद्यालयले पठाएको सूची र वडाध्यक्षको सिफारिसलाई महानगरले प्रायः सोझै स्वीकृत गर्ने गरेको छ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थी वास्तवमै लक्षित वर्गका हुन् वा होइनन् भन्ने विषयमा प्रभावकारी छानबिन र अनुगमनको व्यवस्था छैन । परिणामतः छात्रवृत्तिको अवसर वास्तविक विपन्न, असहाय र जेहेनदार विद्यार्थीले पाएका छन् भन्ने सुनिश्चित गर्ने अवस्था देखिँदैन ।
देशको संघीय राजधानीभित्र पर्ने काठमाडौं र ललितपुर महानगरपालिकामा अब्बल सामुदायिक विद्यालयदेखि महँगा र गुणस्तरीय निजी विद्यालयहरू छन् । यहाँका सामुदायिकसँगै निजी विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा पर्छन् । सामुदायिक विद्यालयमा निःशुल्क पढ्न पाए पनि निजीमा पढ्न भने चर्को शुल्क तिर्नुपर्छ । जसका कारण कतिपय विद्यार्थीको निजीमा पढ्ने सपना अधुरो हुन्छ ।
काठमाडौं महानगरपालिकाले हरेक वर्ष नयाँ शैक्षिक सत्रलगत्तै व्यवस्थित तबरले छात्रवृत्तिका लागि विद्यार्थीको नाम निजी विद्यालयलाई सिफारिस गर्छ । त्यो सिफारिसमा दूरदराजका बालबालिकादेखि विपन्न र गरिब परिवारका बालबालिका अट्छन् । काठमाडौं महानगरपालिकाले यस वर्ष मात्रै कक्षा १ देखि १० सम्म २० हजार पाँच सय हाराहारीलाई छात्रवृत्ति प्रदान गर्दै छ । यसको टुंगो जेठ मसान्तसम्म लाग्नेछ ।
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत ओमप्रसाद गौतमका अनुसार छात्रवृत्ति छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । महानगरले कक्षा ११ र १२ का लागि प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी छनोट गरिसकेको छ भने कक्षा १ देखि १० सम्मका लागि पनि जेठ मसान्तभित्र सबै निजी विद्यालयमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको टुंगो लगाउनेछ । ‘कक्षा ११ र १२ मा परीक्षा लिएर विद्यार्थी छनोट गरिसकेका छौँ । कक्षा १ देखि १० सम्मका लागि पनि जेठ मसान्तभित्र सबै निजी विद्यालयमा छात्रवृत्तिका विद्यार्थी सिफारिस गरिन्छ,’ गौतमले भने, ‘छनोट भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन सबै निजी विद्यालयलाई पत्राचार गरिसकेका छौँ । हाल महानगरको छात्रवृत्ति छनोट समितिले अन्तिम सूची तयार पार्ने काम गरिरहेको छ ।’
काठमाडौं महानगरले गत शैक्षिक सत्रमा कक्षा १ देखि १० सम्म गत वर्ष १८ हजार आठ सय र ०८१ मा १८ हजार ४२२ जनालाई छात्रवृत्ति प्रदान गरेको थियो । काठमाडौं महानगरपालिकाभित्र पाँच सय १६ निजी विद्यालय छन् । त्यसमध्ये १०८ निजी विद्यालयलाई महानगरले बन्द गर्ने तयारी गरेको छ । अन्य निजी विद्यालयबाट छात्रवृत्ति प्रदान गरिन्छ । महानगरका सबै निजी विद्यालयमा गरी तीन लाख ७८ हजार विद्यार्थी छन् ।
अर्कोतर्फ ललितपुर महानगरपालिकामा भने विद्यालय छात्रवृत्ति कार्यक्रम पारदर्शी छैन । यहाँ विद्यालयले पठाएको छात्रवृत्तिको विवरण महानगरले सिधै स्वीकार गर्छ । विद्यालयको सूचीमा तोकिएका लक्षित वर्ग छन् वा छैनन् महानगरले थप खोजी गर्दैन । वडाध्यक्षले नै विपन्न भनेर तोक लगाएर निःशुल्क पढाउन सिफारिस गर्छन् । छात्रवृत्तिको पारदर्शिताका लागि कार्यविधिसमेत बनाइएको छैन ।
ललितपुर महानगरमा कक्षा १ देखि १२ सम्म एक लाख २० हजार विद्यार्थी छन् । त्यसमध्ये ३७ सामुदायिक विद्यालयमा २५ हजार विद्यार्थी छन् । सामुदायिक विद्यालयले छात्रवृत्ति दिनुपर्दैन । तर, निजी विद्यालयले अनिवार्य रूपमा १० देखि १५ प्रतिशतसम्म छात्रवृत्ति दिनुपर्छ । ललितपुरका ३१४ वटा निजी विद्यालयले आफूखुसी छात्रवृत्ति प्रदान गरिरहेका छन् । यहाँ छात्रवृत्ति प्रदान गर्न परीक्षा लिने चलन छैन ।
ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेलका अनुसार महानगरभित्र कक्षा १ देखि १२ सम्म करिब १३ हजार विद्यार्थीले छात्रवृत्ति सुविधा पाइरहेका छन् । तर, ती छात्रवृत्ति कुन आधारमा, कस्ता विद्यार्थीलाई र कति पारदर्शी ढंगले प्रदान गरिएको छ भन्नेबारे महानगरसँग नै स्पष्ट विवरण छैन । महानगरले हालसम्म छात्रवृत्ति छनोटको एकीकृत र व्यवस्थित प्रणाली विकास गर्न सकेको छैन ।
‘हाल वडाध्यक्षको सिफारिस र विद्यालयले पठाएको सूचीका आधारमा छात्रवृत्तिसम्बन्धी निर्णय हुन्छ । महानगर आफैँले विद्यार्थी छनोट गर्दैन । विपन्न वर्गका हकमा वडाध्यक्षको सिफारिस आवश्यक पर्छ भने अन्य विद्यार्थीको हकमा विद्यालयले पठाएको विवरणकै आधारमा निर्णय हुन्छ,’ शिक्षा अधिकृत पौडेलले भने, ‘ती विवरणको स्वतन्त्र रूपमा छानबिन र प्रमाणीकरण गर्ने संयन्त्र भने हामीसँग छैन ।’
महानगरले आगामी शैक्षिक वर्षदेखि भने कार्यविधि बनाएर परीक्षा तथा निर्धारित मापदण्डका आधारमा विद्यार्थी छनोट गर्ने तयारी गरेको जनाएको छ ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, ०७५ ले छात्रवृत्तिमा तोकिएका विद्यार्थीलाई विद्यालयले पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार महानगरले तोकिएकाहरूलाई पूर्ण छात्रवृत्ति दिन निजी विद्यालयलाई पत्राचार पनि गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनअनुसार पाँच सय विद्यार्थी रहेको निजी विद्यालयले १० प्रतिशत, पाँचदेखि ८ सयसम्म विद्यार्थी रहेका निजी विद्यालयले १२ प्रतिशतसम्म र आठ सयभन्दा माथि विद्यार्थी रहेका विद्यालयले १५ प्रतिशतसम्म छात्रवृत्ति दिनुपर्छ ।
सोहीअनुसार छात्रवृत्ति छनोटका लागि काठमाडौं महानगरपालिकाले महानगरको शिक्षा ऐन, नियमावली र कार्यविधिअनुसार सम्बन्धित विद्यालय क्षेत्रका वडाध्यक्ष, विद्यालयका प्रअ, अभिभावक प्रतिनिधि, महानगरको विद्यालय निरीक्षकसहित चार सदस्य पदेन रहने छात्रवृत्ति छनोट समिति बनाएको छ । यो समितिले हरेक विद्यालयमा पुगेर छात्रवृत्तिमा पढ्ने विद्यार्थी तोक्छ र सूची तयार पार्छ । उक्त सूची महानगरको शिक्षा विभागले अनुगमन गरेर कार्यान्वयन गर्छ ।
त्यस्तै, काठमाडौंको टोखा नगरपालिकाले पनि छात्रवृत्तिका लागि यसपटकदेखि काठमाडौं महानगरपालिकाको शैली अपनाएको छ । यहाँ पनि विद्यालय प्रअ, वडाध्यक्ष, नगरपालिकाका शिक्षा अधिकारीलगायतको समिति गठन गरिएको छ । यस वर्षदेखि पारदर्शी रूपमा छनोट गरेर सिफारिस गरिने नगरपालिकाका शिक्षा अधिकृत सीताराम कोइरालाले बताए । टोखामा कक्षा १ देखि १० सम्म पाँच हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । उनका अनुसार कक्षा ११ र १२ तर्फ ३१४ जनाको नाम सिफारिस गरिसकिएको छ भने कक्षा १ देखि १० सम्म यही महिनाभित्र टुंगो लगाइँदै छ ।
हाल देशका अधिकांश पालिकामा विद्यालय छात्रवृत्ति कार्यक्रम अपारदर्शी मात्रै छैन पहुँच र नेताका छोराछोरीलाई पढाउने माध्यमसमेत बनिरहेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसद्को प्रश्नोत्तरमा बोल्दै काठमाडौं महानगरपालिकाले अपनाउँदै आएको छात्रवृत्ति मोडललाई देशभरका अन्य पालिकाहरूमा पनि लागू गरिने र पारदर्शी बनाइने बताएका थिए ।
कक्षा ११ र १२ मा पनि काठमाडौंको पारदर्शी ललितपुरको भद्रगोल
कक्षा ११ र १२ मा काठमाडौं महानगरपालिकाले यस वर्ष करिब पाँच हजारलाई छात्रवृत्तिका लागि छनोट गरिसकेको छ । उक्त नतिजा सोमबार प्रकाशन भइसकेको छ । २२ हजार विद्यार्थीले परीक्षा दिएकामा सबै प्रकारका छात्रवृत्तिमा समेट्ने गरी पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । महानगरका शिक्षा विभाग प्रमुख तथा छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले २४ घण्टामा योग्यताक्रमको आधारमा नतिजा प्रकाशन भएको बताए । ‘हामीले अन्य तल्ला तहका कक्षामा पनि छात्रवृत्ति प्रदान गरिसकेका छौँ, माथिल्लो तह ११ र १२ का लागि पनि नतिजा सार्वजनिक गरिसकेका छौँ,’ उनले भने, ‘मेहनती, दूरदराजबाट आएका र विपन्न विद्यार्थीले पनि राजधानीका राम्रा स्कुलहरूमा पढ्न पाउन् भनेर हामीले छात्रवृत्तिलाई पारदर्शी बनाएका छौँ ।’ यसअघि काठमाडौं महानगरमा कक्षा ११ र १२ तर्फ ०८० मा ३४ सय ५९, ०८१ मा ३८ सय १ र ०८२ मा ३७ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
ललितपुरमा कक्षा ११ र १२ मा करिब १५ सयलाई छात्रवृत्ति प्रदान गरिन्छ । तर, यहाँ कस्ता विद्यार्थीलाई दिइन्छ भन्नेमा पालिका अन्योलमै छ । विद्यालयले र वडाध्यक्षले सिफारिस गरेको व्यक्तिलाई छात्रवृत्ति दिने गरिएको छ । गत वर्ष रातो बंगला, डिएभी, युलेन्सले विद्यालयमै नभएका विद्यार्थीको नाम पठाएको भनेर महानगरको शिक्षा शाखामा उजुरीसमेत परेको थियो । तर, महानगरपालिकाबाट छानबिन भएन ।
छात्रवृत्तिमा नमुना भक्तपुर
काठमाडौं र ललितपुरसँग जोडिएको राजधानीको जिल्ला भक्तपुर भने छात्रवृत्तिमा नमुना छ । यहाँ ०७५ देखि नै नगरपालिकाले परीक्षा लिएरै विद्यार्थीलाई छात्रवृत्तिमा पढ्न पठाउने गरेको छ । ‘हामीले हरेक वर्ष परीक्षा लिएर जेहनदार, विपन्न, असहाय वर्गका विद्यार्थीलाई निःशुल्क पढाइरहेका छौँ । हामीले लागू गरेपछि बल्ल काठमाडौं र अन्य पालिकाले परीक्षा लिने नियम लागू गर्न थालेका छन्,’ भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले भने, ‘निजी विद्यालयहरूमा पढ्न चाहना भएका, तर पैसा नभएका विद्यार्थीलाई यो ठुलो राहत हो ।’ भक्तपुर नगरपालिकाले यहाँ रहेका करिब ९५ वटा निजी विद्यालयमा करिब दुई हजार पाँच सय विद्यार्थीलाई छात्रवृत्तिका लागि सिफारिस गर्दै आइरहेको छ । त्यस्तै, यहाँ स्कुल तहमा मात्रै होइन उच्च शिक्षा र प्राविधिक धारका एमबिबिएस तथा इन्जिनियरिङ शिक्षामा समेत छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।