मिडफिल्डर प्रीति राई नेपाली राष्ट्रिय महिला फुटबल टोलीसँग जोडिएकी छिन् । महिला टोली भारतको गोवामा भइरहेको साफ महिला च्याम्पियनसिपमा सहभागी छ । प्रीतिले सेमिफाइनलमा बंगलादेशविरुद्धको खेलमा उपलब्ध हुने नेपाली टोलीले जनाएको छ । प्रीति यस सिजनमा कम्बोडियन लिग खेलिरहेकी छिन् । साफ च्याम्पियनसिप फिफा विन्डोअघि नै सुरु हुँदा प्रीति नेपाली टोलीसँग जोडिन नपाएकी हुन् ।
फिफा विन्डोको समयमा व्यावसायिक लिगलाई विश्राम दिने परम्परा रहेको छ । फिफा विन्डो सोमबारदेखि ९ जुनसम्म रहेको छ । फिफा विन्डो सुरु भएसँगै प्रीति कम्बोडियाबाट सिंगापुर हुँदै दिल्ली भएर गोवामा टोलीसँग जोडिएको टिम म्यानेजर सुरेश शाहले जानकारी गराए ।
नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । ‘प्रीतिसँग सेसिफाइनल खेल्नुअघि दुई दिनको समय छ । विश्रामपछि उनले अभ्यासमा आफूलाई समावेश गर्नेछिन्,’ शाहले भने । नेहरू रंगशालामा भएको समूह ‘ए’को दुवै खेलमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो खेलमा गीता रानाको गोलमा भुटानलाई १-० ले हराएको थियो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपाल सर्वाधिक ६ पटकको उपविजेता हो ।