संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा ११ र १२ (प्लस टु) को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले आइतबार छनोट परीक्षा सम्पन्न गरेको छ । ८३ वटा केन्द्रमा २२ हजार १६ जनाले परीक्षा दिएका हुन् । महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २६ हजार ६०३ को आवेदन स्वीकृत भएको थियो ।
परीक्षाका लागि अनलाइन प्रणालीबाट आवेदन दिने १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य गरी २६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । तर, परीक्षामा ८२.७६ प्रतिशत मात्र सहभागी भए ।
छात्रवृत्ति परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले २४ घण्टा (सोमबारभित्र) योग्यताक्रमको प्रारम्भिक नतिजा प्रकाशन हुने बताए । ‘प्रारम्भिक योग्यता नतिजामा चित्त नबुझ्नेहरूका लागि दुई दिन पुनर्योगको समय दिन्छौँ । त्यो अवधि र प्रक्रिया सकिएपछि योग्यताक्रमको प्रकाशन हुन्छ । यसैका आधारमा पहिलो चरणको मनोनयन प्रकाशन गर्नेछौँ,’ उनले भने ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ०८० मा ३४ सय ५९, ०८१ मा ३८ सय १ र ०८२ मा ३७ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।