चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ। चितवनस्थित क्यान्सर अस्पतालको सभा हलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन वैशाखमा सम्पन्न निर्वाचनबाट चुनिएका पदाधिकारीलाई विधिवत रूपमा कार्यभार हस्तान्तरण गरिएको हो।
आजदेखि संघको नेतृत्व औपचारिक रुपमा डा. बद्री रिजालले लिएका छन्। नयाँ कार्यसमितिका अन्य पदाधिकारिहरूतर्फ वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल छन्।
यसैगरी संघको प्रदेश संयोजकतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशीलगायत रहेका छन्।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले एनएमएले नेपालको जनस्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै चिकित्सक र बिरामीलाई सहज हुने किसिमको नीतिगत वातावरण तीनै तहका सरकारले सहज बनाउनुपर्ने बताए।
संघका निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले यसअघि संघ र सरकारबिच दूरी बढेको र चिकित्सकका मागमा सरकार प्रतिबद्ध नभएको बताए। ‘सरकारले चिकित्सक र बिरामीको कुरा बुझ्दैन, जनस्वास्थ्यमा सरकारले बेवास्ता गर्न पाउँदैन, चिकित्सकहरूले काम गरेको राज्यले देखिरहेको छैन, बिहान ९ बजेदेखि ५ बजेसम्म ड्युटी भनिरहँदा राति ९ बजेसम्म काम गर्नुपर्ने अवस्था छ, छात्रवृत्ति करारका चिकित्सकलाई बँधुवा मजदुर हुन् भनेर राज्यले व्यवस्था गरिरहेको छ,’ उनले भने।