हेटौँडामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । बालबालिकाविरुद्धको कसुरसम्बन्धी मुद्दामा जाहेरी परेपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका– ७, नागस्वतीस्थित तासिर इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा सामाजिक शिक्षा विषय अध्यापन गराउने शिक्षक ४५ वर्षीय अच्युत ओझा शुक्रबार साँझ पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत जेठ ७ गते दिउँसो विद्यालयमा कक्षा आठमा अध्ययनरत १२ वर्षीय एक विद्यार्थीलाई शिक्षक ओझाले कक्षाकोठाभित्रै कुटपिट गरेको आरोप छ । घटनापछि पीडित पक्षले बालबालिकाविरुद्धको कसुरमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जेठ १६ गते जाहेरी दर्ता भएपछि प्रहरी टोली खटिएको थियो । सोही दिन साँझ करिब ६ः४५ बजे शिक्षक ओझालाई हेटौँडा– ६, पुतलीबजारस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका विद्यार्थीको हाल चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको टाउकोमा चोट लागेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । विद्यार्थीमाथि भएको भनिएको कुटपिटको प्रकृति, कारण तथा घटनाका अन्य पक्षबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।