डिजिटल दुनियाँमा मात्र खुम्चिनुहुँदैन कक्रोच जनता पार्टी

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण
  • सामाजिक सञ्जालले छोटो समयमा असाधारण ध्यानाकर्षण गर्न सक्छ, तर यसलाई संगठन मान्न सकिन्न, अनलाइनमा आक्रोश व्यक्त गर्नेहरू भौतिक आन्दोलनमा सहभागी हुँदैनन्

भारतमा ‘कक्रोच जनता पार्टी’को आश्चर्यजनक उदयले देशमा एकखालको तरंग नै ल्याएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीशले देशका बेरोजगार युवालाई कक्रोच (सांग्लाजस्तो परजीवी) भनेपछि व्यंग्यात्मक प्रतिक्रियाको रूपमा सुरु भएको यो अभियान भारतीय युवाको क्रोध र निराशाको प्रतीक बन्न पुग्यो । लाखौँ भारतीयले सांग्लालाई राजनीतिक प्रणालीमा अस्तित्वको विडम्बनापूर्ण प्रतीकको रूपमा अँगाले ।

यो घटनापछाडिको क्रोध निःसन्देह वास्तविक छ । भारतमा युवा बेरोजगारी भयावह छ । हालै सम्पन्न परीक्षामा भएको चुहावटले योग्यतामा आधारित अवसरमाथिको विश्वासमै धक्का लागेको छ । बढ्दो महँगीले पहिले नै चिन्तित पुस्तालाई थप असुरक्षित बनाएको छ । यसैले अनलाइन माध्यममा चलेको यस आन्दोलनपछाडिको भावनात्मक ऊर्जा बनिबनाउ छैन । तर, यस आन्दोलन सफल होस् भन्ने चाहनाले राजनीतिक इतिहासको कठिन तर अत्यावश्यक पाठ सिक्नुपर्छ । जतिसुकै तीव्र भए पनि आक्रोश आफैँले स्वचालित रूपमा राजनीतिक रूपान्तरण निम्त्याउँदैन । भाइरल आक्रोशले धेरैको ध्यान त तान्न सक्छ, तर धेरैको ध्यान तानिएकै आधारमा कुनै आन्दोलनले राजनीतिक प्रणाली बदल्न सक्दैन ।

डिजिटल लोकप्रियता राजनीतिक शक्तिमा स्वतः परिवर्तन हुनेछ भन्ने भ्रमबाट कक्रोच जनता पार्टी माथि उठ्नुपर्छ । सामाजिक सञ्जालले छोटो समयमा असाधारण दृश्यता सिर्जना गर्न सक्छ, तर दृश्यता संगठन होइन । अर्थात्, अनलाइन आक्रोश व्यक्त गनेहरू भौतिक आन्दोलनमा सहभागी हुँदैनन् । जबसम्म अनलाइन उत्साह अनुशासित सामूहिक कार्यमा रूपान्तरण हुँदैन, तबसम्म कुनै परिवर्तन आउनेछैन ।

लगभग हरेकजसो समाजमा हरेक क्षणमा साझा क्रोध हुने गर्छ । सफलता निर्धारण उक्त सामूहिक क्रोध बलियो सामाजिक सञ्जाल, प्रभावकारी नेतृत्व, साझा राजनीतिक पहिचान, समन्वित रणनीति र राज्यमाथि निरन्तर दबाब राख्न सक्ने संगठित बलमा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुराले गर्छ । कक्रोच जनता पार्टीको हकमा उल्लिखित कुनै कुरा भएको छैन । अहिले, निराशाको अत्यधिक दृश्यमान डिजिटल अभिव्यक्ति त छ, तर संगठित सामाजिक आन्दोलन उठेको छैन । जबसम्म यो मौलिक रूपमा परिवर्तन हुँदैन, कक्रोच जनता पार्टी एक छोटो साइबर लहर मात्र रहनेछ, जुन छिटै कमजोर बन्दै जाने सम्भावना छ ।

डिजिटल युगको सबैभन्दा ठुलो भ्रम हो, प्रतीकात्मक सहभागिता नै अर्थपूर्ण सहभागिताजस्तो महसुस हुनु । फलो गर्दा, मिम सेयर गर्दा, व्यंग्यात्मक टिप्पणी पोस्ट गर्दा वा ट्रेन्डिङ ह्यासट्यागमा सहभागी हुँदा त्याग वा बलिदानबिनै संलग्नताको भावना सिर्जना हुन्छ । यो भावनात्मक सन्तुष्टिले प्रायः राजनीतिक गतिविधिको भ्रम सिर्जना गर्छ । जबकि, अनलाइनमा जति नै लहर आए पनि त्यसको भौतिक असर नदेखिए अन्तर्निहित शक्ति संरचना यथावत् रहन्छ ।

वास्तविक आन्दोलनले धेरै कुराको माग गर्छ । त्यसमा सहभागीले आफ्नो आराम क्षेत्रबाट बाहिर निस्कनुपर्छ, समय दिनुपर्छ, बाटोमा आउने जोखिम स्वीकार गर्नुपर्छ र बारम्बार समन्वित सामूहिक कार्यमा भाग लिन इच्छा हुनुपर्छ । भावनात्मक अभिव्यक्ति संगठित प्रतिरोधमा रूपान्तरण हुन नसकेकै कारण अधिकांश अनलाइन अभियान हराएर जान्छन् । निश्चित रूपमा राज्यविरुद्धको सफल विरोध परिचालनमा सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका हुन्छ । अरू मानिस पनि सहभागी हुन्छन् र स्थानीय सञ्जाल लामो समय टिक्छ भन्ने विश्वास दिलाउन सके मानिसहरू जोखिमपूर्ण सामूहिक कार्यमा समेत सामेल हुने मेरो अध्ययनले देखाएको छ । विश्वासको यी औपचारिक र अनौपचारिक संरचनाविना व्यापक साझा गुनासा पनि राजनीतिक रूपमा निष्क्रिय रहन्छन् ।

‘कक्रोच जनता पार्टी’सँग हाल त्यही पूर्वाधारको अभाव छ । यसमा प्रभावशाली डिजिटल पहुँच त छ, तर डिजिटल पहुँच सामूहिक अवज्ञा परिचालन गर्न सक्ने सामाजिक सञ्जालजस्तो होइन । त्यही भिन्नताले बंगलादेश र नेपालसँगको भारतको अभियान तुलना किन त्रुटिपूर्ण छ ? बंगलादेशमा युवा परिचालन केवल चलाख मिम्सको कारणले सफल भएको थिएन । तिनीहरू सफल किन भए भने आयोजकहरू आन्दोलनमा भौतिक रूपमा उपस्थित भएका थिए । साथै उनीहरू विद्यार्थी सञ्जाल र स्थानीय विरोध संरचनामा गहिरो रूपमा जोडिएका थिए । सामाजिक सञ्जालले ती आन्दोलनलाई बढावा दिएको हो, तर यसले जमिनमा संगठन सक्रिय थियो ।
नेपालको युवा परिचालनमा पनि यही कुरा देखियो । त्यहाँ विरोधको सफलता स्थानीय मुद्दा उठाउने नेतृत्व, विश्वसनीय संगठनात्मक सम्बन्ध र मैदानमा भौतिक उपस्थितिमा निर्भर थियो । राजनीतिक आन्दोलनहरू तब सफल हुन्छन्, जब मानिस गुनासो रहेकै स्थानमा भेला हुन्छन्, केवल ह्यासट्याग ग्रुपमा मात्र होइन । कक्रोच जनता पार्टीको सबैभन्दा गम्भीर कमजोरी यही कुरामा देखिन्छ । र, यस आन्दोलनलाई गति दिने अभिजित दीपके अमेरिकामा छन् । भारतमा स्थापित राजनीतिक शक्तिका लागि गम्भीर चुनौती बोस्टनमा रहेका दीपकेद्वारा हुन सक्दैन । खासमा कुनै पनि प्रभावकारी आन्दोलनका परिचालनकर्ता क्याम्पस, बस्ती, समाज, कार्यस्थल र समुदायभित्र सम्मिलित हुनुपर्छ, जहाँ राजनीतिक क्रोधलाई संगठित नागरिक अभियानमा रूपान्तरण गर्न सकिन्छ ।

आन्दोलनमा निकटता निकै महत्वपूर्ण हुन्छ । किनभने, राजनीतिक परिचालन विश्वासमा निर्माण हुन्छ । विश्वास केवल व्यंग्यमार्फत निर्माण गर्न सकिँदैन । न त यसलाई टाढाबाट प्रतीकात्मकतामार्फत नै कायम राख्न सकिन्छ । मानिसहरू अर्को महादेशमा रहेको नेतासँग गफ गरेरभन्दा नेताहरू आफ्नै छेउमा उभिँदा जोखिम स्वीकार गर्न इच्छुक हुन्छन् । त्यसमाथि भारतमा विरोध परिचालन विशेषगरी कठिन रहन्छ । भारत लामो समयदेखि जाति, वर्ग, धर्म, भाषा, क्षेत्रीय बफादारी र पक्षपाती पहिचानद्वारा गहिरो रूपमा खण्डित देश हो । यस्तो ठाउँमा साझा निराशालाई एकीकृत प्रतिरोधमा रूपान्तरण गर्ने प्रयास आफैँमा जटिल हुन्छ ।

त्यसमाथि वर्तमान सत्तारुढ व्यवस्थाले यी विभाजनलाई विरासतमा मात्र पाएको छैन, यसलाई व्यवस्थित रूपमा थप गहिरो बनाएको छ । यसले व्यापक–आधारित सामूहिक परिचालनको सम्भावनालाई कमजोर बनाउँछ । यस्तो वातावरणमा व्यापक क्रोधलाई एकताबद्ध युवा नेतृत्वको राजनीतिक आन्दोलनमा रूपान्तरण गर्नु धेरै गाह्रो हुन्छ । यदि गर्ने नै हो भने असाधारण रूपमा परिष्कृत संगठनात्मक रणनीतिको माग गर्छ ।

बेरोजगारीप्रति साझा क्रोधले यी विभाजनलाई स्वतः मेटाउँदैन । खण्डित समाजमा मानिसले प्रायः समान समस्या अनुभव गर्दासमेत राजनीतिक रूपमा अलग रहन्छन् । किनभने, सामाजिक सीमा पार गर्न सकिन्छ भन्ने विश्वास कमजोर रहन्छ । त्यसैले, आन्दोलन परिचालनकर्ता अझ आवश्यक हुन आवश्यक हुन्छ, ताकि सक्रिय रूपमा खण्डित समुदायलाई जोड्न सकियोस् । तर, हालको कक्रोच जनता पार्टीले यस दिशामा कुनै काम गरेको छैन । यसको समर्थन मूलतः डिजिटल रूपमा जोडिएका सहरी युवामा केन्द्रित देखिन्छ, जो सांस्कृतिक रूपमा मिम राजनीति र अनलाइन व्यंग्यमा अभ्यस्त छन् । यसले दृश्यता त सिर्जना गर्छ, तर साँघुरो जनसांख्यिकीयमा सीमित दृश्यताले बिरलै संरचनात्मक राजनीतिक दबाब उत्पन्न गर्छ ।

बेरोजगार स्नातक, परीक्षार्थी, शिक्षक, किसान, कामदार, निम्न मध्यमवर्गीय परिवार, महिला संगठन, अनौपचारिक श्रम समूह र सीमान्तकृत धार्मिक तथा जातीय समुदायसँग जोडिन सक्यो भने मात्र आन्दोलन सान्दर्भिक बन्न सक्छ । यी समुदायले भारतमा समान प्रकारका प्रणालीगत बहिष्कारको सामना गरिरहेका छन् । सामाजिक रूपमा विभाजनमा रहनुको सट्टा धेरै क्षेत्रका गुनासो एकसाथ अघि ल्याउँदा राजनीतिक प्रणालीमाथि दबाब बढ्छ ।

कक्रोच जनता पार्टी नामको अनलाइन आन्दोलनको अर्को कमजोरी भनेको रणनीतिक अस्पष्टता हो । उसो त यस्तो अस्पष्टताले सुरुमा भाइरल हुन सघाउँछ । किनभने, अस्पष्टताभित्र विभिन्न समूहले आफ्नो निराशालाई लचिलो प्रतीकमा प्रस्तुत गर्न सक्छन् । तर, सफल विरोध परिचालनलाई स्पष्टता चाहिन्छ, किनभने नागरिक ठोस, बुझ्न सकिने र व्यवहारमा उतार्न सकिने मागवरिपरि सबैभन्दा प्रभावकारी रूपमा परिचालन हुने गर्छन् ।

भ्रष्टाचार, संस्थागत अहंकार, लोकतान्त्रिक क्षय वा आर्थिक अन्यायविरुद्धको आक्रोशले व्यापक भावनात्मक सहानुभूति सिर्जना गर्न सक्छ । तर, राजनीतिक प्रतिष्ठानले अमूर्त असन्तुष्टिलाई बिरलै प्रतिक्रिया दिन्छन् । सफल आन्दोलनले स्पष्ट, ठोस र परिवर्तनकारी माग व्यक्त गरेर खण्डित समुदायलाई एकताबद्ध गर्छन् । र, त्यस एकतामार्फत सहभागीलाई साझा राजनीतिक उद्देश्य प्रदान गरेर परिभाषित उद्देश्य हासिल गर्ने दिशामा दिगो परिचालन गर्छ ।

डिजिटल पूर्वाधारमा मात्र सीमित आन्दोलनको अर्को संरचनात्मक कमजोरी यसलाई सहजै हस्तक्षेप गरेर कमजोर पार्न सकिन्छ, जुन कुरा कक्रोच जनता पार्टीको एकाउन्ट ब्लक गरेर सरकारले देखाइसकेको छ । व्यंग्यको पनि सीमा हुन्छ । हास्यव्यंग्यले शक्तिशाली तरिकाले अभिजात वर्गको अहंकारलाई उजागर गर्न सक्छ । तर, व्यंग्यले मात्र बिरलै अनुशासित राजनीतिक परिचालनलाई कायम राख्छ । आन्दोलन पुस्तागत निराशाको एक सानदार मनोरञ्जनात्मक अभिव्यक्तिमा मात्रै सीमित रहन सक्ने जोखिम छ । त्यस्तो जोखिमबाट बच्ने हो भने गम्भीर रूपान्तरणकारी शक्ति बन्ने कठिन प्रयास स्रु गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले भाइरल हुनु आफैँमा जित हो भन्ने भ्रम त्याग्न आवश्यक छ । इतिहास तब मात्र परिवर्तन हुन्छ, जब आक्रोश संगठित हुन थाल्छ ।

– द स्क्रोलबाट

स्वाइन स्विडेनको उप्सला विश्वविद्यालयका शान्ति र द्वन्द्व अनुसन्धान विषयका प्राध्यापक हुन्

सुझावित समाचार