उच्च बार एसोसिएसन महेन्द्रनगर कञ्चनपुरको अध्यक्षमा अधिवक्ता भोजराज पाठक निर्वाचित भएका छन्। ६औँ कार्यसमिति चयनका लागि शनिबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा पाठक निर्वाचित भएका हुन्। अध्यक्षका प्रत्यासी भूपेन्द्र विष्ट, आनन्दप्रसाद जोशीले समान ८/८ र भोजराज पाठक, धनसिंह महराले समान १५/१५ बराबरी मत ल्याएका थिए। अन्तत: गोलाप्रथाबाट पाठक निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रमुख निर्वाचन अधिकृत गजेन्द्र रावलले अध्यक्षका प्रत्यासी चारैजनामध्ये दुई/दुईले समान मत ल्याउँदा बढी समान भएका उम्मेदवारबिच गोलाप्रथाबाट पाठक अध्यक्षमा निर्वाचित भएको बताए। समान मत ल्याउँदा पनि भाग्यले पाठक निर्वाचित भएका छन्। यस्तै, सचिवमा रोशनलाल चौधरी निर्वाचित भएका छन्।
उनले आफ्ना प्रत्यासी मदन कुँवरलाई ५ मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन्। चौधरीले २५ र कुँवरले २०मत ल्याएका थिए। त्यसअघि उपाध्यक्षमा त्रिपुरेश्वरी विष्ट (भट्ट), कोषाध्यक्षमा सुरेन्द्रप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका थिए । सदस्यतर्फ हरिप्रसाद जोशी, धनबहादुर राना, सरिता गैरे, सुदर्शन कुँवर धनराज शर्मा पनि निर्विरोध निर्वाचित भएका थिए। उच्च बार एसोसिएसन महेन्द्रनगर कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका भोजराज पाठकसहितका पदाधिकारी सदस्यले कानुन व्यवसायीहरूको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन्।