आकाशे तालसँग पहिलो भेट

शनिबार, १६ जेठ, २०८३
डिजिटल संस्करण

हुम्लाको गुठिचौर गाउँपालिकाको क्षेत्रमा पर्ने आकाशे ताल जाने योजनाका साथ शुक्रबार बेलुका करिब ३ बजे साथीहरूसँगै यात्रा सुरु गरियो । रमाइला डाँडा, भिर पखेरा र फाँटहरू छिचोल्दै ठाउँ–ठाउँमा फोटो खिच्दै तीन घण्टाको यात्रापछि चोत्र भन्ने ठाउँमा पुगेर वास बस्ने निधो गरियो ।

दाउरा बालेर चुलोमा पाकेको खाना खाएर रमाइला कुरा गर्दै त्यो रात त्यहीँ बितायौँ । भोलिपल्ट उज्यालोमा ब्यागप्याक बोकेर हिँड्न थाल्यौँ । त्यो बिहान पहाडी बाटोमा खुट्टाले माटो टेक्दा एउटा अजिबको खुसी महसुस भएको थियो । किनकि धेरै लामो समयदेखि योजना बनाएको गन्तव्यमा हामी पुग्दै थियौँ ।

सायदै त्यो खुसीलाई शब्दमा उतार्न सकिएला । आकाशे तालतर्फको यात्रा सुरु हुनेबित्तिकै मनमा एउटा उत्सुकता थियो, कि ३,९०० मिटरको उचाइमा के देख्न पाउने होला ? त्यो ठाउँमा पुग्दा कस्तो होला ? त्यो अग्लो ठाउँबाट अरू कुन ठाउँ देख्न सकिन्छ होला ?

वास बसेको ठाउँबाट करिब तीन घण्टा हिँडेपछि भेटियो बडेमानको उकालो । बाटो सजिलो थिएन । ढुंगामाटोले भरिएको ठाडो उकालो, कहिले माटो झर्ने खालको, कहिले बडेमानको भिर । सास फेर्न बिस्तारै गाह्रो हुँदै गयो । उचाइ बढ्दै जाँदा हावा पातलिन थाल्यो, तर आँखाले देख्ने दृश्यहरू भने झन्झन् विस्तृत हुँदै गए । ठ्याक्कै क्यामेरामा जुम इन गरेर जुम आउट गरेजस्तो ।

उकालो बाटो आधा काट्दा एउटा चट्टानमाथि बसेर पानी पिइयो । खानेकुरा खाइयो । त्यहाँबाट हेर्दा तल बादलको सेतो सागर अनि सानो फाँट देखियो । किनारामा देखिने ती हिमाल सेताम्य थिए । त्यो दृश्य हेरेर लाग्यो, हामी पृथ्वीमा होइन, आकाशको कुनै तहमा हिँडिरहेछौँ । यस उचाइमा उकालो चढ्दा शरीरमा पर्याप्त पानी राख्नु जरुरी रहेछ । हरेक आधा घण्टामा पानी पिउँदै विश्राम गर्दै हामी हिँडिरह्यौँ ।

जब तालको आसपास पुग्यौँ, जताततै हिउँले भरिएको सेताम्य ठाउँ देख्यौँ । जमेको हिउँमा हिँड्न गाह्रो, तर मनै आनन्दित भइरह्यो । फरक–फरक एंगलबाट फोटो खिचियो, भिडियो बनाइयो अनि नांगो आँखाले वरपर धित मरुन्जेल हेरिरह्यौँ ।

जब ताल देखियो, पहिलोपटक मनले एउटा लामो सास फेर्यो । आकाशे नीलो रंगको त्यो विशाल जलाशय, वरिपरि हिउँले ढाकिएका चट्टानहरू, माथिबाट आइरहेको सूर्यको प्रकाश । सुनको टुक्राझैँ चम्किरहेका नजिकैका हिमचट्टानहरू । त्यो दृश्य वर्णन गर्न नसकिने खालको थियो । आँखाले देखेँ, मनले अनुभव गर्यो, तर शब्दमा व्यक्त गर्न अझै सकिनँ ।

आकाशे तालको किनारमा रहेको एउटा ढुंगामा बसेँ । त्यो चिसो ढुंगाको स्पर्शले थकाइ हराएझैँ लाग्यो । पानीको सतहमा हिमाल र आकाशको उल्टो प्रतिबिम्ब खेलिरहेको थियो । लाग्थ्यो, तालले माथि र तल गरी दुई संसार समेटेको छ, एउटा वास्तविक, अर्को सपनाको ।

लाग्थ्यो, त्यो नीलो तालको पानीमा आकाश झरेको छ वा आकाशले पानी ओढेको छ । आकाशे तालको वरिपरि एउटा गहिरो मौनता थियो । सहरको गुनगुनाहट, मोटरको हर्न, मान्छेको हुलदंगा र होहल्ला सबैबाट मुक्ति मिलेको थियो त्यहाँ । कानले सुन्ने केवल हावाको सुसाइ । वेलावेला हावाको वेगले तालको किनारामा पानी ठोक्किएको हल्का आवाज ।

त्यहाँ समय बितेको पत्तो नै भएन । एकछिनमा घडी हेर्दा पो थाहा भयो । अब त फर्किने वेला पो भएछ । किनकि हामी त्यहाँबाट पुन वास बस्नका लागि त्यही अघिल्लो दिन वास बसेकै ठाउँ चोत्र गाउँमा फर्किनुपर्ने थियो । 

अकाशे तालमा समय बिताउन पाउनु एउटा अनुपम पल थियो, मनले मानिरहेको थिएन, तर बाध्यताले दोहोर्याएकाले हामी त्यहाँबाट फर्किन तयार भयौँ । घाम डुबिसकेको थियो । अनि अघि आएको बाटो ओरालो झर्नुपर्ने थियो । माथि उक्लिँदा जति गाह्रो थियो । पक्कै पनि झर्दा अलि सजिलो नै थियो । तर, मन भारी थियो, साँझ पर्दै थियो अनि वास बस्ने ठाउँमा पुग्ने चटारो उत्तिकै थियो ।

तल झर्दा एकजना साथीलाई टाउको दुख्यो । म हिँड्दै गर्छु भनेर हिँड्नुभएको थियो । उहाँ त बाटो बिराएर खोलाको झन् जटिल र अप्ठ्यारो बाटोमा पो जानु भएछ । अब फेरि अर्को तनाव थपियो । त्यो साथीलाई भेटाउने । बल्लतल्ल हामी उहाँलाई खोज्दै सजिलो बाटोमा आइपुग्यौँ तर उहाँ भेटिनुभएन । साँझ परिसकेको थियो । उहाँलाई हामीले अलि अगाडि बढेपछि मात्र भेट्यौँ । उहाँलाई भेटेपछि हामी खुसी भयौँ ।

त्यहाँबाट साँझको केही समय हिँडेपछि हामी पुनः वास बस्ने ठाउँमा आइपुग्यौँ । वास बस्ने ठाउँमा फोटो, भिडियो हेर्दाहेर्दै{ खाना पनि पाक्यो । अनि खाना खाएर सुत्न भनेर छुट्टियौँ हामी । यसरी भोलिपल्ट बिहान उठेर जुम्ला बजारतर्फ लाग्यौँ ।

त्यो यात्रामा भेटिएका हिमाली भेगका गाउँले दाई अनि उहाँको खाँटी मुस्कान मनमा अझै ताजा छ । बाटो सम्झाइदिने दाइ अनि मिठो खाना पकाएर खुवाउने ती बुढीआमैको सम्झना आइरहन्छ । 
 

सुझावित समाचार