नेपालका सद्भाव आचार्यले भारतका भिभान उभायकारलाई पराजित गर्दै १२औँ नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् । महिलातर्फ नेपालकी तारा कार्की चित्रकारले समग्रमा दुई सय ४१ स्कोरका साथ स्वर्ण पदक प्राप्त गरिन् । प्रतियोगितामा नेपालले सर्वाधिक तीन स्वर्ण, एक रजत र एक कांस्यसहित कुल पाँच पदक प्राप्त गरेको छ । सद्भावले समग्रमा नौ अन्डर दुई सय सातको स्कोर निकाली भिभानलाई चार स्ट्रोकले हराउँदै उपाधि रक्षा गरेका हुन् ।
उनले टिम र व्यक्तिगततर्फ दुई स्वर्ण जित्न सफल रहे । गत संस्करण पनि उनले दुई स्वर्ण जितेका थिए । पाँच अन्डर दुई सय ११ स्कोरका साथ भिभान दोस्रो भए । नेपालका राहुल विश्वकर्मा समग्रमा तीन अन्डर दुई सय १३ स्कोर गरी तेस्रो भए । सद्भावले तेस्रो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले ।
उनले फ्रन्ट नाइन दुई अन्डर ३४ स्कोर गरेका थिए । त्यसपछि १०औँ, ११औँ र १७औँ होलमा बोगी खेप्दा १५औँ होलको बर्डीको सहायताले उनले ब्याक नाइन दुई ओभर ३८ मा सकाए । भिभानले सातौँ र नवौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले । उनी फ्रन्ट नाइन एक अन्डर ३५ स्कोरमा रोकिए । बोगीरहित ब्याक नाइन खेलेका उनले १३औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन एक अन्डर ३५ स्कोर गरे । राहुलले तेस्रो होलमा बर्डी प्रहार गरेका थिए । पहिलो र आठौँ होलमा बोगी प्रहार गर्दा उनले फ्रन्ट नाइन एक ओभर ३७ स्कोर गरेका थिए । उनले बाँकी नौ होलमा पार जोगाउँदै ब्याक नाइन इभन पार ३६ स्कोर गरेका थिए ।
तारालाई १४ स्ट्रोकको अग्रता
महिलातर्फ नेपालकी तारा समग्रमा २५ ओभर दुई सय ४१ सहित शीर्ष स्थानमा रहिन् । उपविजेता सम्झना खत्रीलाई १४ स्ट्रोकले हराउँदै उनले स्वर्ण जितेकी हुन् । समग्रमा दुई सय ५५ स्कोर जोडेकी सम्झनाले रजत पदक प्राप्त गरिन् । भारतकी नयोनिका कपुरले काउन्ट ब्याकमा दुई सय ६० सहित कांस्य हात पारिन् । उनले अन्तिम दिन १३ ओभर ८५ मा खेल पूरा गरिन् । यू–१७ तर्फ भारतका भिभान समग्रमा पाँच अन्डर दुई सय ११ सहित भारतका निलोफर शिवमूर्तिलाई सात स्ट्रोकले हराउँदै उपाधि जित्न सफल रहे । एक अन्डर ७१ को स्कोर बनाएका निलोफर समग्रमा दुई ओभर दुई सय १८ सहित दोस्रो भए ।
साबिक विजेता सद्भाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३ अन्डर दुई सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरुण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधिको जिते । ५४ होलको तीन दिनसम्म चलेको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच दक्षिण एसियाली राष्ट्रका ५२ खेलाडीको सहभागिता रहेको थियो ।