छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल आदिवासी जनजाति चलचित्र महासंघले यही जेठ १७ गते आइतबारदेखि ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ। चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा जेठ १७, १८ र १९ गते महोत्सव हुने भएको हो।

काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई सिर्जित वृत्तचित्रहरू प्रदर्शन गरिने महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिए।

महोत्सवमा कथानक चलचित्रतर्फ दिनेश लिङ्देन निर्देशित रीत, अमृतमान महर्जन निर्देशित स्वयनगु, जनक गुरुङ निर्देशित ङोल्स्यो रामरानी, निमा लामा तामाङ निर्देशित ह्याङ तामाङ तथा अशोक आलेमगर निर्देशित दिलसरा प्रदर्शन गरिने जनाइएको छ। लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित तङसिङ, हुतबहादुर तामाङ निर्देशित दुखला ग्यम, विपना तामाङ भुजेल निर्देशित निको पहिचान तथा विशाल रोकामगर निर्देशित लाहुरेनी प्रदर्शन हुने आयोजकले जनाएको छ।

वृत्तचित्रतर्फ अनिल बुढामगर निर्देशित आग्रे, होमकुमारी माझी निर्देशित लदि पूजा तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र विराटनगरके प्राचीन राजवंशी प्रदर्शन गरिनेछ। महोत्सवले चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ताबिच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिइएको छ।

सुझावित समाचार