कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक राष्ट्रियस्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यू– १९ महिला विश्वकपका लागि नेपाली टोलीको छनोट खेल जेठ २२ गतेदेखि सुर्खेतमा सञ्चालन हुन लागेको हो।
जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशका टोलीहरूले सहभागिता जनाउने कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए। ‘घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ कर्णाली प्रदेशको छनोट भइसकेको छ,’ उनले भने, ‘टोली सुर्खेतमा बन्द प्रशिक्षणमा व्यस्त छ।’
खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सबल बनाउन विशेष प्रशिक्षण दिइराखिएको संघले जनाएको छ। भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा क्रमशः अघि बढिरहेको कर्णालीका लागि यो प्रतियोगिता ऐतिहासिक कोसेढुंगा साबित हुने संघले जनाएको छ।
कर्णालीमा गत वर्ष पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना भएको थियाे। ‘कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता भए पनि महिला क्रिकेटतर्फ भने यो नै पहिलो राष्ट्रिय खेल हुने संघका सचिव श्रीधर केसीले बताए।
आगामी महिला विश्वकप खेल्ने नेपाली टोलीको जग बसाल्ने यस महत्त्वपूर्ण छनोट प्रतियोगिताको सम्पूर्ण व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ।