नेपाल २०औँ एसियन छनोटको सेमिफाइनलमा

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपालको राष्ट्रिय महिला क्रिकेट टोली २०औँ एसियन खेलकुदअन्तर्गत छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपालले मलेसियाको बायुमास मैदानमा बिहीबार भएको समूह ‘बी’को खेलमा इन्डोनेसियलाई चार विकेटले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । नेपाल र इन्डोनेसियाबिच सात वर्षपछि अन्तर्राष्ट्रिय टी–२० आई खेल भएको हो ।

जितसँगै नेपालले फाइनल प्रवेशको खेलमा आयोजक मलेसियाको सामना गर्नेछ । समूह ‘ए’को उपविजेता मलेसिया तथा समूह ‘बी’को विजेता नेपाल हो । नेपालले आफ्ना दुवै खेलमा शतप्रतिशत जित निकालेको थियो । मलेसियाले दुई खेलमा समान एक जित र हार सामना गरेको थियो ।

समूह ‘ए’मा थाइल्यान्ड ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपालको समूहमा २ अंक जोडेको चीन उपविजेता बन्यो । चीनले अब उपाधि दाबेदार थाइल्यान्डको सामना गर्नेछ । छनोट प्रतियोगिताको समूह चरणबाट हङकङ र इन्डोनेसिया बाहिरिएका छन् । छनोट प्रतियोगिताका शीर्ष तीन टोलीले जापानमा हुने एसियन खेलकुदमा सहभागिता जनाउनेछन् ।

कप्तान इन्दुको आक्रामक ब्याटिङ
पहिलो ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा चार विकेट गुमाएर ११३ रनको बलियो स्कोर खडा गरेको थियो । नेपालले १९.३ ओभरमा ६ विकेटको नोक्सानीमा ११४ रन बनाउँदै सेमिफाइनल स्थान पक्का गरेको हो । नेपालको जितमा कप्तान इन्दुले ४३ बलमा ४२ रनको योगदान दिइन् । उनले आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरेकी थिइन् । नेपालका ओपनर सम्झना खड्का र पूजा महतोले गतिलो सुरुवात गर्न सकेनन् । सम्झनाले १ तथा पूजाले ९ रन बनाएका थिए ।

नेपालले दुवै ओपनरलाई १६ रनमा गुमाएको थियो । रुबी पोद्दार शून्यमा आउट हुँदा नेपाल ४.१ ओभरमा २०/३ को कमजोर अवस्थामा थियो । कप्तान इन्दुले सोनी पाख्रिनसँग चौथो विकेटका लागि ४५ रनको साझेदारी गर्दै नेपाललाई १२.६ ओभरमा ६५/४ को स्थितिमा राखिन् । सोनीले ३६ बलमा २९ रन बनाउन दुई चौका प्रहार गरिन् । इन्दुले कविता कुँवर र सीता रानामगरसँग गतिलो साझेदारी गर्दै नेपाललाई जिततर्फ अग्रसर गराइन् । कविताले १४ बलमा १४ तथा सीताले ६ बलमा तीन चौकाको सहयोगमा १३ रन जोडिन् ।

आयु नन्दाको अर्धशतक
पहिलो ब्याटिङ गरेको इन्डोनेसियाका लागि कप्तान आयु नन्दाले अर्धशतकीय योगदान दिएकी थिइन् । उनले ६२ बलमा तीन चौकाको सहयोगमा सर्वाधिक ५६ रन बनाइन् । सो ब्याटिङमा नी लिउले ३३ बलमा २३ रन बनाइन् । नेपालका लागि मनीषा उपाध्यायले ९ रनमा दुई विकेट लिइन् । रिया शर्माले १७ रनमा एक विकेट हात पारिन् ।

पुरुष टोली पनि छनोट खेल्दै 
मलेसियामा महिला टोलीले एसियन छनोटको सेमिफाइनल स्थान रक्षा गर्दा नेपालको पुरुष सिनियर टोलीले पनि छनोट खेल्दै छ । सिंगापुरमा ३१ मेदेखि सुरु हुने एसियन गेम्स क्रिकेट छनोट खेल्न जाने नेपाली पुरुष क्रिकेट टोलीको बिहीबार नेपाल क्रिकेट संघले बिदाइ गरेको छ । ८ जुनसम्म चल्ने छनोटमा आठ देश सहभागी छन् । समूह ‘ए’मा नेपालसहित मलेसिया र चीन छन् । समूह ‘बी’मा ओमान, हङकङ, बहराइन र सिंगापुर छन् । दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली एसियन गेम्समा छनोट हुनेछ । नेपालले पहिलो खेल चीनसँग ३१ मेमा खेल्नेछ । 

सुझावित समाचार