तेन्जिङनोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता सुरु [तस्बिरहरू]

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नेपालमा पर्वतीय खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो संस्करणको ‘तेन्जिङनोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’ काठमाडौंमा सुरु भएको छ।

नेपाल राष्ट्रिय पर्वत मार्गदर्शक संघ (एनएनएमजिए) र युएस नेपाल क्लाइम्बर्स एसोसिएसन इन्कको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन ठमेलस्थित एस्टरेक क्लाइम्बिङ वालमा गरिएको हो।

आयोजकका अनुसार प्रतियोगितामा २७ पुरुष र ११ महिला खेलाडी सहभागी छन्। सहभागीमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक पनि रहेका छन्।

यस वर्षको संस्करण विशेष रूपमा पहिलोपटक लिड क्लाइम्बिङ विधामा आयोजना गरिएको हो। यसअघि दुई संस्करणहरू टप–रोप क्लाइम्बिङ विधामा मात्र सीमित थिए।

एनएनएमजिएका अध्यक्ष तुलसिंह गुरुङले यस वर्षको प्रतियोगिता ऐतिहासिक भएको बताए। ‘पहिलोपटक लिड क्लाइम्बिङ विधामा प्रतियोगिता आयोजना गरिएको छ। यसअघि दुई संस्करणहरू टप–रोप क्लाइम्बिङमै सीमित थिए,’ उनले भने।

विजेताहरूलाई प्रथम स्थानका लागि रु ५० हजार, दोस्रोका लागि रु. ३० हजार र तेस्रोका लागि रु. २० हजार नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको फाइनल शुक्रबार दिउँसो १ बजेबाट प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थितिमा हुने आयोजकले जनाएको छ।

प्रतियोगिता तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो सफल आरोहण गरेको स्मृतिमा आयोजना गरिएको हो।

सुझावित समाचार