‘गौँथली’को टिजर सार्वजनिक

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ। आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नुपरेको व्यवहारलाई टिजरले देखाएको छ। चलचित्रमा ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ देखाएको छ।

श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनुपरेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ। पढ्ने रहर हुँदाहुँदै भएको विवाह, इमानदार भनेको श्रीमान् खराब भएपछिको अवस्था र बुहारीले भोग्नुपरेको कष्टले दर्शकको ध्यान खिच्छ।

श्रीमानको भूमिकामा अरुण क्षेत्री र श्रीमतीको भूमिकामा सिम्रन खड्का रहेको चलचित्र साउन १ गतेबाट प्रदर्शनमा आउँदै छ। डा. कपिल रिजालले निर्देशन गरेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायतको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनीष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन्।

शम्भुजित बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ। चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

See More On

सुझावित समाचार