नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङकाजी शेर्पाले गत २३ मेमा सगरमाथाको सफल आरोहण गरी विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जर्सको झन्डा फहराएका छन् ।
११ अप्रिल २०२६ बाट सुरु भएको अभियान पूरा गर्दै उनले आठौँपटक सफलतापूर्वक सगरमाथा आरोहण गरे । उनको यो सफल सगरमाथा आरोहण पोखरा एभेन्जर्स परिवार र देशभरका समर्थकका लागि निकै गर्वको क्षण भएको पोखरा एभेन्जर्सको भनाइ छ ।
जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झन्डा फहराइएको थियो ।
स्थापना कालदेखि नै नेपाल प्रिमियर लिगमा यो सबैभन्दा बढी मूल्य लागेको फ्रेन्चाइजले नेपाली खेलकुदको भावना र ग्रासरुट क्रिकेटको विकासलाई प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तन र हिमनदी संरक्षणसँग सम्बन्धित मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ ।