प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रमअन्तर्गत जिल्लाका सुरक्षाकर्मीलाई स्वास्थ्य परीक्षण र औषधि–उपचार गरिएको छ। जिल्ला प्रहरी कार्यालय मुगुको आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहकार्य र कर्णाली प्रदेश प्रहरी अस्पतालको सहयोगमा प्रहरी युनिटमा प्रहरी अस्पताल कार्यक्रम सञ्चालन गरिएको हो ।
बुधबार एक कार्यक्रमबिच जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सम्पूर्ण दर्जाका सुरक्षाकर्मी, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत र सदरमुकामआसपास रहेका सुरक्षा पोस्टका गरेर १२८ जनाको चेक जाँच तथा औषधि–उपचार गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी गराए।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नसा तथा हड्डीरोग विशेष डाक्टर श्यामकृष्ण लौडारीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी र जिल्ला अस्पताल मुगुका निमित्त स्वास्थ्य व्यवस्थापक डाक्टर दीपेन्द्रजंग शाहीको टोलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीको स्वास्थ्य चेकजाँच र उपचार गरेको थियो। स्वास्थ्य परीक्षणसँगै आवश्यक ५० प्रकारका औषधि पनि निःशुल्क उपलब्ध उपलब्ध गराइएको थियो।
डाक्टर लौडारीका अनुसार दुर्गम जिल्लामा कार्यरत प्रहरी कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको छ, यसमार्फत कर्णाली प्रदेशअन्तर्गतका १० वटै जिल्लाका सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार कार्यक्रमले प्रहरी कर्मचारीको स्वास्थ्य सचेतना अभिवृद्धि हुनुका साथै नियमित स्वास्थ्य परीक्षणमा पहुँच बढाउन सहयोग पुगेको बताएका छन्।