अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ सुरु हुन अब १४ दिन मात्र बाँकी छ । विश्वकपमा ४८ राष्ट्रले भाग लिँदै छन् । विश्वकपलाई रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन फिफाले यसपटकदेखि केही नियम परिवर्तन गर्ने भएको छ । द इन्टरनेसनल फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) र फिफा खेललाई पारदर्शी बनाउने ती नियम लागू गर्ने योजनामा छन् । अब खेलमा हुने ढिलासुस्ती हटाउन र मैदानभित्र अनुशासन कायम राख्न खेलाडीले शतप्रतिशत नियम पालना गर्नुपर्नेछ ।
१ जुन २०२६ पूर्ण रूपमा लागू हुने फिफाले जनाएको छ । १९७० को विश्वकपमा पहेँलो र रातो कार्ड देखाउन थालिएको थियो । २०१८ विश्वकपलाई प्राविधिक रूपमा बलियो बनाउन भिडियो असिस्टेन्ट रेफ्री (भार) प्रयोग गरियो । २०२२ को कतार विश्वकपमा अतिरिक्त समयलाई वास्तविक खेल समयअनुसार लम्ब्याउने अभ्यास भएको थियो । प्रत्येक विश्वकपमा फिफाले नियम परिवर्तन गरिरहेको छ । यसपटक पनि फिफाले केही नियम परिवर्तन गरेको छ ।
पहिलो चरणमा पाएको पहेँलो कार्ड अर्को चरणमा गणना नहुने
फिफाले नियम परिवर्तन लागेकोमध्ये कार्ड प्रमुख मानिएको छ । यसअघि पहेँलो कार्डका कारण प्रमुख खेलाडीले महत्वपूर्ण खेल गुमाउने गरेका थिए । एउटा पहेँलो कार्ड समूह चरणमा र अर्को क्वार्टरफाइनलमा पाएका खेलाडीले सेमिफाइनल गुमाउनुपर्ने हुन्थ्यो । अब फिफाले यो नियम परिवर्तन गर्ने योजना बनाएको छ । समूह चरणपछि सबै पहेँलो कार्ड ‘शून्य’ हुनेछ । क्वार्टरफाइनल सकिएपछि फेरि सबै पहेँलो कार्ड ‘शून्य’ हुनेछ । सेमिफाइनल पुग्नका लागि चार टोलीले पहिलेभन्दा धेरै खेल खेल्नुपर्ने हुन्छ । धेरै खेल खेल्दा दुईवटा पहेँलो कार्ड पाउने र मुख्य खेलाडीले सेमिफाइनल वा फाइनलजस्ता ठुला खेल गुमाउने सम्भावना उत्तिकै हुन्छ । नियम परिवर्तन भए पनि दुईवटा पहेँलो कार्ड खाँदा एक खेलको प्रतिबन्ध लाग्ने नियम यथावत् रहेको छ । तर, त्यो कार्ड निश्चित समयभित्रै पाएको हुनुपर्नेछ । कुनै खेलाडीले समूह चरणका तीनमध्ये दुई खेलमा पहेँलो कार्ड व्यहोरे उसले अर्को खेल गुमाउनेछ । तर, समूह चरणमा एउटा मात्र कार्ड छ भने अर्को चरणमा त्यो गणना हुँदैन ।
खेलाडीलाई मैदानबाहिर निस्कन १० सेकेन्ड
खेलका दौरान खेलाडी परिवर्तन गर्नु फुटबलको एक प्रमुख हिस्सा हो । मैदानबाट बाहिरिने क्रममा खेलाडीले समय खेर फाल्ने गर्छन् । फिफाको नयाँ नियमअनुसार अब यस्तो रणनीतिका साथ मैदानबाहिर जाने खेलाडी पनि कारबाहीमा पर्न सक्छन् । फिफाले मैदानबाहिर निस्कने खेलाडीलाई धेरैमा १० सेकेन्डभित्र मैदानको चार कुनामा लेखिएको रेखा पार गर्नुपर्ने जनाएको छ । तोकिएको समयभन्दा ढिलो गरे उनको स्थानमा भित्र प्रवेश गर्ने खेलाडी तत्काल प्रवेश गर्न सक्दैनन् । ती खेलाडीले एक मिनेटको ‘पेनाल्टी वेट’पछि मात्र खेलमा सहभागी हुन पाउनेछन् । मैदानभित्र हुने चोटपटकको उपचारका लागि पनि नयाँ नियम बनाइएको छ । मैदानभित्र उपचार गराउने खेलाडीले कम्तीमा एक मिनेट बाहिरै बस्नुपर्नेछ । खेल सुरु भएको एक मिनेटपछि मात्र उनी खेलाडी मैदान प्रवेश गर्ने नियम बनाइएको छ ।
तीन मिनेटको हाइड्रेसन ब्रेक
फिफाको नयाँ नियमअनुसार अब प्रत्येक मध्यान्तरमा अनिवार्य रूपमा तीन मिनेटको ‘हाइड्रेसन ब्रेक’ लागू हुनेछ । अत्यधिक गर्मी मौसममा मात्र नभएर अब यो सबै सिजनमा हुनेछ । फिफाले खेलाडीको सुझावका आधारमा यस्तो व्यवस्था गरिएको हो ।
सन् २०२२ को कतार विश्वकपमा अत्यधिक गर्मी हुँदा खेलाडीले ‘कुलिङ ब्रेक’ पाएका थिए । त्यसपछि फिफाले अत्यधिक गर्मी हुने स्थानमा हुने खेल दौरान कुलिङ ब्रेक लागू गरेको थियो । विश्वकप तीन स्थानमा सञ्चालन हुँदा त्यहाँका मौसम फरक हुनेछन् । खेलाडीलाई गर्मीबाट प्रतिरक्षा र आराम दिन हाइड्रेसन ब्रेक व्यवस्था फिफाले गरेको हो । ‘अब मौसम र तापक्रमको स्थिति हेर्नुपरेन, रेफ्रीले सबै खेलमा विश्रामको समय दिनेछ,’ फिफाले भनेको छ ।
कर्नर र दोस्रो पहेँलो कार्डमा पनि ‘भार’ प्रयोग
कतार विश्वकपसम्म पनि मुख्य रेफ्रीले गोल, पेनाल्टी र सिधै रातो कार्डका निर्णय गर्ने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भार) हेर्थे । आगामी विश्वकपमा कर्नर र दोस्रो पहेँलो कार्डमा पनि भार प्रयोग हुने छ । मैदानमा आफूले गरेका गलत निर्णय तत्काल सच्याउन सकिने व्यवस्था भए पनि खेलको गति ढिलो नहुने दाबी फिफाको छ ।
समय खेर फाल्दा पाँच सेकेन्डको ‘अल्टिमेटम’
पहिला मैदानमा खेलाडीले जानीजानी समय खेर फाल्थे । अब विश्वकपमा उनीहरूले यस्तो गर्न मिल्दैन । नयाँ नियमअनुसार, ‘थ्रो–इन’ वा ‘गोल किक’ लिँदा रेफ्रीले पाँच सेकेन्डको ‘भिजुअल’ काउन्टडाउन सुरु गर्नेछन् । यस समयभित्र खेल सुरु नभए थ्रो–इन विपक्षी टोलीलाई दिइनेछ । गोल किकको बदलामा विपक्षीले सिधै कर्नर किक पाउनेछ । यसैगरी गोलरक्षकले आठ सेकेन्डभन्दा बढी समय हातमा बल होल्ड गरे विपक्षी टोलीले कर्नर किक पाउनेछ ।
निर्णय विरोध गर्दा रातो कार्ड
फिफाको नयाँ नियमअनुसार खेल सञ्चालन गर्ने रेफ्रीलाई बलियो बनाइएको छ । रेफ्रीको निर्णयको विरोधमा मैदान छाड्ने खेलाडी वा टोलीलाई पनि सिधै रातो कार्डको व्यवस्था गरिएको छ । यसअघि विवाद हुँदा रेफ्रीले कतिपय अवस्थामा लचिलो हुँदै रातो कार्डको स्थानमा चेतावनीस्वरूप पहेँलो कार्ड दिन्थे । अब रेफ्रीले यस्तो घटनामा विनासंकोच रातो कार्ड दिन सक्ने व्यवस्था गरिएको छ । विगतका केही विवादित घटनालाई आधार मानेर यस्तो कडाइ गरिएको फिफाले जनाएको छ ।
आपत्तिजनक गतिविधिमा पनि रातो कार्ड
अक्सर फुटबलम कडा प्रतिद्वन्द्वीबिच विवाद हुने गर्छ । खेलाडीहरू मैदानमै घम्साघम्सी गर्छन् । यस्तो किसिमको गतिविधि रोक्न फिफाले कडा नियम बनाएको छ । अब खेलाडीले विवाद वा संवादका क्रममा मुख छोपेमा सिधै रातो कार्ड पाउनेछ । यस्तो व्यवहारलाई गलत संकेत वा आपत्तिजनक गतिविधिसँग जोडेर कडा कारबाही गर्ने तयारी गरिएको फिफाको भनाइ छ ।
‘बडी क्यामेरा’को निगरानीमा खेलाडी
मैदानमा रेफ्रीमाथि हुने दुर्व्यवहार रोक्न र निर्णय प्रक्रियालाई पारदर्शी बनाउन रेफ्रीले ‘बडी क्यामेरा’ प्रयोग गर्न सक्नेछन् । रेफ्रीसँग तर्क गर्न वा स्पष्टीकरण सोध्न टोलीका कप्तानलाई मात्र अनुमति हुनेछ । भारको क्षेत्राधिकार पनि बढाइएको छ । अब गलत पहेँलो कार्ड वा गलत कर्नर किक दिइएको अवस्थामा पनि भारले हस्तक्षेप गर्न पाउनेछ ।