२०औँ एसियन क्रिकेट छनोट : नेपालसँग चीन १९ रनले पराजित

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन मात्रै बनायो

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

नेपालले एसियन खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट छनोटमा चीनलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा बुधबार भएको समूह ‘बी’को प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाएर १२५ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा चीनले २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन जोड्दा नेपाल १९ रनले विजयी भयो । चीनको यो दोस्रो खेल हो । चीनले समान एक जित र हार सामना गरेको छ । 

समूह ‘बी’को पहिलो खेलमा चीनले इन्डोनेसियालाई पाखा लगाएको थियो । नेपालको भने यो पहिलो खेल हो । रनरेट बलियो बनाएको नेपाल २ अंकका साथ शीर्ष स्थानमा रह्यो । चीन दोस्रो स्थानमा रहँदा एक खेल खेलेको इन्डोनेसिया तेस्रो स्थानमा छ । 

प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा थाइल्यान्डले आयोजक मलेसियामाथि सात विकेटको सानदार जित निकाल्यो । मलेसियाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा सात विकेटको क्षतिमा ९२ रन जोड्यो । थाइल्यान्डले १२.३ ओभरमा तीन विकेटको नोक्सानीमा ९५ रन बनाएको थियो । थाइल्यान्डले समूह ‘बी’मा लगातार दोस्रो जित निकाली ४ अंक बनाएको छ । थाइल्यान्ड शीर्ष स्थानमा छ । मलेसिया र हङकङले समान एक खेल खेल्दा अंक बटुल्न सकेका छैनन् । 

पूजाको अर्धशतकीय इनिङ्स
नेपालको जितमा उपकप्तान पूजा महतोले अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६३ रनको योगदान दिइन् । ओपनिङ खेलाडीकी रूपमा क्रिजमा प्रवेश गरेकी पूजा इनिङ्सको १९.३ ओभरमा रनआउट भइन् । उनले रुबी पोद्दारसँग चौथो विकेटका लागि ६४ रनको बलियो साझेदारी गर्दै टोलीलाई ५६–३ बाट १२०–४ को स्थितिमा राखिन् । रुबीले नटआउट रहँदा २५ बलमा एक चौकाको सहयोगमा २२ रन बनाइन् । नेपालको ब्याटिङमा सोनी पाख्रिनले २४ बलमा दुई चौका प्रहार गरी १८ रन बनाइन् । कप्तान इन्दु बर्मा सामना गरेको बलमै आउट भइन् । पूर्वकप्तान रुविना क्षेत्रीले ४ रनको योगदान दिइन् । बलिङमा चीनकी मा रुकिईले चार ओभरमा २६ रन खर्चेर सर्वाधिक दुई विकेट हात पारिन् । वाङ र जिपिङले समान एक विकेट लिए । 

नेपालको कसिलो बलिङ
१२६ रनको लक्ष्य पछ्याएको चीनले नेपालमाथि दबाब बनाइराखेको थियो । शीर्ष चार ब्याट्सम्यानले संयमित रूपमा ब्याटिङ गर्दा नेपाल इनिङ्सको केही समयमा दबाबमा आएको थियो । ओपनर जिपिङ ली र वेइ हेटिङले पहिलो विकेटका लागि ६.२ ओभरमा ३० रनको साझेदारी गरेका थिए । जिपिङले २४ बलमा दुई चौकाको सहयोगमा १५ रन बनाइन् । 

त्यसपछि हेटिङ र कप्तान मियायु झाउले दोस्रो विकेटका लागि २९ रनको साझेदारी गर्दै टोलीलाई ११.१ ओभरमा ५९–२ को स्थितिमा राखे । हेटिङले २६ बल सामना गरी १८ रन बनाइन् । कप्तान मियायुले २८ बलमा ३० रनको योगदान दिइन् । उनी इनिङ्सको १५.६ ओभरमा आउट भइन् । उनलाई मनीषा उपाध्यायले रुविना क्षेत्रीबाट क्याच आउट गराइन् । हेटिङले २१ रन बनाइन् । उनी रिया शर्माको ओभरमा एलबिडब्लू भइन् ।

नेपालले चीनलाई लक्ष्यसम्म पुग्न नदिन कसिलो बलिङ गरेको थियो । नेपालका लागि मनीषाले चार ओभरमा ११ रन खर्चेर दुई विकेट लिइन् । यसैगरी रियाले चार ओभरमा एक मेडन राखी १८ रन दिएर दुई विकेट लिइन् । कविता कुँवर र पूजाले पनि समान एक विकेट हात पारे । 
 

सुझावित समाचार