२०औँ एसियन खेलकुद प्रतियोगिताको महिला क्रिकेट छनोटमा बुधबार भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको छ। नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याउने क्रममा चीनले पाँच विकेट गुमाएर १०६ रन मात्र जोड्न सक्यो।
क्वालालम्पुरमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १२५ रनको योगफल बनाएको थियो। पूजा महतोले ६३ रनको अर्धशतकीय पारी खेल्दा रुबी पोद्दारले २२ र सोनी पाख्रिनले १८ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
चीनका लागि मा रुइकेले दुई तथा वाङ हुइयिङ र जियापिङ लीले समान एक विकेट लिए।
जवाफी ब्याटिङ गरेको चीनका लागि कप्तान मिङयुए झुले ३०, वाङ हुइयिङले २१ रन बनाए। नेपालकी रिया शर्माले दुई विकेट निकाल्दा मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक विकेट हात पारे।