अनितादेवी रायको हत्या आरोपमा छिमेकी पक्राउ

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५, बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको हत्या आरोपमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय बब्लु राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनापछि फरार रहेका बब्लुलाई गत सोमबार नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बब्लुमाथि थप अनुसन्धानका लागि सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको इन्स्पेक्टर विजय कार्कीले बताए । उनले घटनाको अनुसन्धान भएरहेकाे बताए।

वैशाख २३ गते राति अनितादेवीलाई पाँच–सातजनाको समूहले घरबाटै बेपत्ता पारेको थियो । भोलिपल्ट अनितादेवीलाई घरमा नदेखेपछि छिमेकीले खोजी सुरु गरेका थिए । घरभित्र रगतका छिटा देखिएपछि उनीहरूले नै प्रहरीलाई जानकारी गराएर छाेरी काजललाई पनि फोन गरेर बोलाएका थिए । गाउँले र प्रहरी मिलेर खोज्दै जाँदा एक सातापछि  हातखुट्टा बाँधिएको तथा खुट्टा र टाउकोतिर १०–१२ किलोको ढुंगा बेरिएको अवस्थामा कोशी नदीको पश्चिमी किनारमा उनकाे शव भेटिएको थियो  । तीन महिनाअघि मात्रै फेरि वैदेशिक रोजगारीका लागि कतार गएका श्रीमान् वीरेन्द्र  कतारबाट फर्किएका छन् ।

उनले बाटोको विषयमा छिमेकीसँग महिनौँदेखि विवाद रहेको बताए । ‘बेपत्ता पारिएको राति ११ देखि १२ बजेसम्म श्रीमान्–श्रीमती फोनमा कुराकानी गरेका थियौँ, घरसम्म पुग्ने बाटो नरहँदा समस्या भइरहेको विषयमा फोनमा पनि बताएकी थिइन्,’ उनले भने, ‘भोलिपल्ट फेरि पटक–पटक फोन गर्दा सम्पर्क हुन सकेन । केहीबेरमा छिमेकीले फोन गरेर जानकारी गराएपछि मैले घटनाबारे थाहा पाएँ ।’ वीरेन्द्रले हत्यारालाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे ।

आमाको हत्या भएको दिनदेखि १२ वर्षीया काजलकुमारी रायको जीवन फेरिएको छ। पहिले गाउँभरि दौडिने, साथीहरूसँग खेल्ने उनी अहिले चुपचाप बस्न थालेकी छिन् । घरमा पाहुना आउँदा उनी धेरै बोल्दिनन् । कसैले ‘आमा कहाँ छिन् ?’ भनेर सोध्दा उनको अनुहार एकाएक मलिन हुन्छ । घरको भान्सामा अब धुवाँसँग मिसिएको आमाको गीत सुनिँदैन। आँगनमा कपडा सुकाउँदै हतारिने ती हात हराइसकेका छन् । तर, काजलले आमाका सामानहरू अझै हटाउन दिएकी छैनन्।

पुरानो चप्पल, कपाल कोर्ने काइँयो र सिरानीमुनि राखिएको रुमाल उनी जस्ताको तस्तै जोगाएर राख्छिन् । ‘त्यो राति म जन्ती नगएको भए हुन्थ्यो, आमा घरमा एक्लै भएर हत्या गरिदियो,’ उनी भन्छिन्, ‘आमाको हत्यारालाई छोड्नुभएन ।’ बोलिरहँदा उनको आँखा आँसुले भरिएको थियो ।
 

सुझावित समाचार