पारा तेक्वान्दो छनोटमा अमिर र रेणु पराजित

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

जापानको आइची–नागोयामा हुने एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा नेपालका अमिर भ्लोन र रेणु तामाङ पराजित भएका छन् । मंगोलियाको उलानबटारमा भएको छनोट प्रतियोगिताको के–४४ क्याटेगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि प्रिक्वार्टरफाइनलमा अमिर चीनका नी झेयीसँग १०–६ ले पराजित भएका हुन् । महिला ४७ केजीमुनि क्वार्टरफाइनलमा रेणुले काजाकस्तानकी मुरातोभा ऐनुरलाई ८–६ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् । 

सेमिफाइनलमा रेणु उज्वेकिस्तानकी मुसिनोभा मदिनासँग १६–४ ले पछि परिन् । सेमिफाइनलमा पराजित भए पनि रेणुले कांस्य पदक भिडन्तका लागि पुनः अवसर पाएकी थिइन् । तर, उनी इरानकी जाभादी नार्गेसबाट प्रोटेक्टर एन्ड स्कोरिङमा पराजित भइन् ।

रेणु र जाभादीले दुवै राउन्ड अंक जोड्न सकेनन् । प्रोटेक्टर एन्ड स्कोरिङ सिस्टमका आधारमा रेणु पदकबाट वञ्चित भएको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

स्वर्ण र रजत विजेता मात्र आइची–नागोया एसियाली पारा तेक्वान्दोका लागि छनोट हुने प्रावधान रहेकाले दुवै खेलाडी छनोट हुन सकेनन् । छनोट नभए पनि ‘वाइल्ड कार्ड’का लागि पहल गर्ने प्रशिक्षक लामाले बताए । पलेशा गोवर्धन भने विश्व वरीयताका आधारमा आइची–नागोया एसियाली पारा तेक्वान्दोका लागि यसअघि नै छनोट भइसकेकी छिन् ।

See More On

सुझावित समाचार