प्रधानमन्त्रीबाट जवाफ सुन्न विपक्षीको संघर्ष

एक साताभित्र प्रधानमन्त्री बालेन संसदमा उपस्थित भएर सम्बोधन गर्ने सभामुख र रास्वपाको आश्वासनपछि विपक्षीले हटाए अवरोध

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण
प्रधानमन्त्रीबाट जवाफ सुन्न विपक्षीको संघर्ष

मंगलबारको संसद् बैठक अवरोध गर्दै विपक्षी दलहरू । तस्बिरः अमुल थापा/नयाँ पत्रिका

  • सभामुख डोलप्रसाद अर्यालले भने–प्रधानमन्त्रीसँग संवाद भइरहेको छ । जवाफ दिने तयारीमा हुनुहुन्छ । यहाँहरूले मिति माग्नुभएको छ । तयारी सकिएपछि मिति दिनुहुन्छ । मिति प्राप्त भएपछि सार्वजनिक गर्छु । प्रधानमन्त्रीज्यू सदन चलेकै दिन आउनुहुन्छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले एक साताभित्र संसद्मा उपस्थित भएर आफ्नो सम्बोधन तथा जवाफ दिने भएका छन् । प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन र सांसदले उठाएका विषयमा जवाफ दिलाउन विपक्षी दलहरूले १५ दिनदेखि निरन्तर आवाज उठाइरहेका वेला सत्तापक्षले प्रधानमन्त्री हप्ता दिनभित्र सदनमा उपस्थित हुने जानकारी गराएको हो । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री जवाफ दिने गरी सदनमा आउने तयारीमा रहेको जानकारी गराए । ‘प्रधानमन्त्रीको सचिवालयमा कुराकानी गरेको छु । सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ । सम्भवतः एक हप्ताभित्रै सदनमा आउने कुरा सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने । प्रधानमन्त्री आउने जानकारीपछि विपक्षी दलहरूले पछिल्लो १५ दिनदेखि जारी राख्दै आएको अवरोध हटाएका छन् । 

नियम ५६ मा महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । कार्यव्यवस्था तथा परामर्श समिति बैठकबाट १५ असारसम्मको सम्भावित कार्यसूची तय गर्दा ध्यान नदिएका विपक्षी दलले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अडानमा नियम ५६ लाई उठाए । नियमावली कार्यान्वयन गर्दै प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तोक्न सभामुखमाथि दबाब बढाए । सभामुखले प्रधानमन्त्री भेटेर समय मागे । प्रधानमन्त्रीले उपयुक्त समयमा तयारी गरेर आउने जवाफ दिए । अन्तत लामो संघर्षपछि विपक्षी दलहरू प्रधानमन्त्रीलाई सदनमा ल्याउने वातावरण बनाउन सफल भएका छन् ।

१५ दिनमा संसद्मा के–के भयो ?

२८ वैशाख : दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम राष्ट्रपतिले पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बिचमै उठेर हिँडे । विपक्षीद्वारा बिचमै उठेर हिँडेको, राष्ट्रिय पोसाक नलगाएको भन्दै प्रधानमन्त्रीको आलोचना ।

२९ वैशाख : विपक्षी दलहरूले नीति तथा कार्यक्रम पढ्दा उठेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ खोज्दै सभामुखसँग रुलिङको माग ।

३० वैशाख : नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई समय दिँदा नाराबाजी र होहल्ला । पहिलो बैठक स्थगित । दोस्रो बैठकमा अर्थमन्त्रीद्वारा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत । विपक्षीको विरोध । सभामुखद्वारा नीति तथा कार्यक्रममाथिको छलफल, जवाफ र पारित गर्ने कार्यक्रम कार्यसूचीबाट हटाइयो ।

३१ वैशाख : विपक्षीको विरोधकै बिच नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढाइयो । विपक्षीसहित ४१ सांसदले छलफलमा भाग लिए । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन । कांग्रेसबाहेक विपक्षी दलहरूद्वारा बैठक बहिष्कार । सभामुखद्वारा ३५ वटा संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेर अस्वीकृत गराए । अवरोधकै बिच नीति तथा कार्यक्रम पारित ।

४ जेठ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरूद्वारा प्रधानमन्त्री चाहियो भनेर प्लेकार्ड देखाउँदै बेल घेराउ । विपक्षीको अवरोधकै बिच बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल ।

५ जेठ : श्रम संस्कृतिका हर्क साम्पाङसहित सांसदले देखाए प्लेकार्ड । नियमावलीको नियम १५ बमोजिम प्रधानमन्त्री र मन्त्रीलाई सदनप्रति जवाफदेही बनाउन माग । सभामुखले ध्यानाकर्षण भएको भन्दै अगाडि बढाए बैठक ।

६ जेठ : श्रम संस्कृति पार्टीद्वारा प्लेकार्ड देखाउँदै नियम १५ (२) पालना गराउन रुलिङ माग्दै नाराबाजी । प्लेकार्ड प्रदर्शन गरेर अभद्र व्यवहार नदेखाउन सभामुखको चेतावनी ।

७ जेठ : प्रधानमन्त्रीले सदनमा आएर सांसदले उठाएका प्रश्नको उत्तर दिनुपर्ने श्रम संस्कृति पार्टीलगायत सांसदको माग । सामूहिक रूपमा विपक्षीद्वारा सदनको बेल घेराउ र नाराबाजी । अवरोधपछि सभामुख बैठक स्थगित गरी प्रधानमन्त्री भेट्न मन्त्रिपरिषद्को कार्यालय पुगे । दोस्रो बैठकमा विपक्षीको अवरोधका बिच विधेयक पेस हुन थालेपछि बेल घेराउ । विरोधका बिच छलफल र निर्णयार्थ प्रस्तुत भई विधेयक पारित ।

१२ जेठ : प्रधानमन्त्रीलाई उपस्थित गराउन संवाद भइरहेको र सदनमा उठेका जिज्ञासा सम्बोधन गर्ने तयारी गरिरहेको सभामुख डोलप्रसाद अर्यालद्वारा जानकारी । विपक्षी सांसदद्वारा उठेर विरोध । दोस्रो बैठकमा रास्वपा मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीद्वारा प्रधानमन्त्री सम्भवतः एक हप्ताभित्रै सदनमा आउने जानकारी । विपक्षीको अवरोध हट्यो, सदनको कारबाही अगाडि बढ्यो ।

सुझावित समाचार