गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट कृषक सम्मानित

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

कुमाख गाउँपालिका सल्यानले गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट कृषकलाई सम्मान गरेको छ। कृषि तथा पशुपालन पेसालाई व्यावसायिक, प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्न र कृषकलाई प्रोत्साहित गर्न २७ कृषकलाई सम्मान गरेको हो । 

गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट  कृषितर्फ २० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका कुमाख गाउँपालिका– ५ का धर्मे बुढाथोकी र पशुपालन गर्न बाख्रापालन गर्दै आएका वडा नं. ६ का खिमे बुढाथोकीलाई समान ४८ हजार नगदसहित सम्मान गरिएको छ । कृषितर्फका २१ र पशुपालनतर्फ ६ गरी २७ कृषकलाई सम्मान गरिएको कुमाख गाउँपालिका पशुपक्षी विकास शाखाका पशु विकास अधिकृत विष्णु केसीले जानकारी दिए । 

उनका अनुसार कृषितर्फ व्यावसायिक कृषक प्रोत्साहनतर्फ २० र पशु विकासतर्फ व्यावसायिक कृषक प्रोत्साहनतर्फ तीन र तीन वा तीनभन्दा बढी माउ भै‌ँसीपालक कृषक प्रोत्साहन कार्यक्रमतर्फ दुईजनालाई नगदसहित सम्मान गरिएको उनकाे भनाइ छ । कृषकहरूलाई लगानी तथा उत्पादनका आधारमा ३० हजारदेखि ६ हजार रुपैयाँ र कदरपत्रले सम्मान गरिएको उनको भनाइ छ । 

गाउँपालिकाले व्यावसायिक रूपमा पशु तथा कृषि पेसा अंगाल्दै आएका कृषहहरूलाई सार्वजनिक सूचनामार्फत आवेदन माग गर्ने र आवेदनका आधारमा स्थलगत अनुमगन गरी छनाेट गर्ने गरेको कृषि शाखा प्रमुख सरोज खड्काले बताए।पुरस्कार ग्रहण गर्दै व्यावसायिक बाख्रापालन गर्दै आएका कुमाख गाउँपालिका– ६ का खिमे बुढाथोकीले गाउँपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आफूलाई अझै काम गर्ने हौसला थपेको बताए। आफ्नो कर्ममा निरन्तर लागिपर्दा सफलता पाइँदोरहेछ भनेर आजको यो कार्यक्रमले पनि पुष्टि गरेको उनको भनाइ छ । 

कृषक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले कृषकलाई प्रोत्साहित गरेर उत्पादनमा वृद्धि गराउनु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। नागरिकको जीवनस्तरमा सुधार ल्याउन कुमाख गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको दाबीसमेत  गरे । 
 

सुझावित समाचार