क्रिकेट खेलाडीको पारिश्रमिक : महिलातर्फ प्रतिमहिना २५ हजारदेखि ५५ हजारसम्म

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण तथा मासिक पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानले पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

नयाँ व्यवस्थाअनुसार वर्गीकृत खेलाडीहरूको मासिक तलबसमेत निर्धारण गरिएको छ। महिलातर्फ डेभलपमेन्ट श्रेणीसमेत समावेश गरिएको छ, जसअन्तर्गत रहेका खेलाडीहरूले प्रतिमहिना २५ हजार रुपैयाँ पाउनेछन्। पुरुष खेलाडीको तुलनामा महिलातर्फको पारिश्रमिक भने कम रहेको छ। महिलातर्फ खेलाडीलाई चार समूहमा विभाजन गरी मासिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म पारिश्रमिक निर्धारण गरिएको क्यानले जनाएको छ।

यसपटक सम्झौतामा समेटिने खेलाडीको संख्या पनि बढाइएको छ। साथै, सबै श्रेणीका खेलाडीहरूको मासिक पारिश्रमिकमा पाँच हजार रुपैयाँले वृद्धि गरिएको छ।

महिलातर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीहरूले प्रतिमहिना ५५ हजार रुपैयाँ पाउनेछन्। यस समूहमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तान रुविना क्षेत्री तथा सीता रानामगर रहेका छन्। सिंगापुरमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताको छनोट चरणमार्फत सीताले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी हुन्।

त्यसैगरी महिला सिनियर टोलीका नियमित खेलाडी कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय ‘बी’ श्रेणीमा परेका छन्।

क्यानले व्यवस्था गरेको डेभलपमेन्ट श्रेणीमा राष्ट्रिय टोलीबाट खेलिसकेका, घरेलु प्रतियोगितामा प्रतिस्पर्धा गरेका, तर सिनियर टोलीमा स्थान बनाउन नसकेका खेलाडीहरूलाई समावेश गरिएको जनाएको छ।

सुझावित समाचार