रुपन्देहीका उद्योगी–व्यवसायीले करको दर घटाउन र दायरा बढाउन सरकारसँग माग गरेका छन्। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार भएको परिषद् सभामा वस्तुगत समितिका सभापति तथा प्रतिनlधिह?ले उद्योग–व्यवसायमा लाग्ने अत्यधिक करको भारले उद्योगी–व्यवसायी थिचिएको बताउँदै त्यसबाट उठ्नका लागि करको दर घटाउन र दायरा बढाउन आग्रह गरेका हुन्।
त्यस्तै, उनीहरूले अधिकतम खुद्रा मूल्य (एमआरपी), भिसिटिएसजस्ता कुराहरूलाई सरल र व्यावहारिक बनाउन पनि सुझाव दिएका छन् । संघमा २८ वटा वस्तुगत समिति रहेका छन्। उनीहरूले उद्योग स्थापना गर्न दिने र पछि जनघनत्व बढेपछि स्थानीयले विरोध गर्ने विस्थापित हुने समस्या समाधानका लागि औद्योगिक क्षेत्र निर्माण गर्न जोडदार माग गरे।
पश्चिम नेपालको पुरानो र ऐतिहासिक बुटवल बजारमा खस्किँदो व्यापारलाई उठाउन पहल गर्न पनि संघलाई आग्रह गरे। व्यवसायी र घरधनी स्वयं जिम्मेवार रहेको हुँदा त्यसमा पुलको भूमिका खेल्न आग्रह गरेका हुन् । कर प्रणालीलाई सरल बनाउन, करका दर घटाउन र दायरा बढाउन, एकद्वार कर नीति लिन, उधारो कानुन ल्याउन, खुला सीमानाकामा कडाइ गर्न आग्रह गरिएको छ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी–व्यवसायीहरूले उठान गरेका समस्या समाधानका लागि महासंघले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष वैद्यले महासंघले बजेट अगावै सरकारसँग औपचारिक रूपमा भेटघाट तथा छलफल गरेर आगामी बजेटबारे महासंघको प्रस्ट कुरा राख्ने पनि जानकारी गराए।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी–व्यवसायीका भन्सारसँग जोडिएको समस्या धेरै रहेको बताउँदै नीतिगत तहमा पहल र पैरवी गर्न महासंघलाई आग्रह गरे। त्यस्तै, प्रदेश तहका समस्या समाधानका लागि प्रदेश सरकारसँग पहल गरिने उद्योगी–व्यवसायीसँग प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समितिका सदस्य हरिप्रसाद अर्यालले उद्योगी–व्यवसायीका लागि अधिकतम खुद्रा मूल्यमा सरकारको नीतिले धेरै समस्या भएको बताउँदै यो समस्या समाधानका लागि महासंघले जिम्मेवार भएर काम गर्ने बताए।
उनले बुटवलका हकमा पार्किङ समस्या समाधानका लागि प्रयासहरू भइरहेको बताउँदै त्यसले केही भए पनि सहजता प्रदान गरेको बताए । यसको दीर्घकालीन समाधानका लागि पनि प्रयास भइरहेको जानकारी गराए । मुख्य बजारको चहलपहल बढाउने विषयमा व्यवसायी र घरधनीसमेत मुख्य जिम्मेवार भएकाले त्यसतर्फ सोच्न आग्रह गरे । त्यसका लागि संघले समन्वय गर्न पनि तयार रहेको उनले बताए ।
कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारीले संघले गरेका काम र भइरहेका प्रयासहरूको जानकारीसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा महासंघका कार्यकारिणी समिति सदस्य केशव भण्डारी, संघका पूर्वअध्यक्ष शंकरप्रसाद श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलगायतले भनाइ राखेका थिए।
त्यसै अवसरमा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनलाई संघका अध्यक्ष अर्यालसहित पूर्वअध्यक्षहरूले सम्मान गरेका हुन् ।