बाँदरआतंकले खेतीयोग्य जमिन बाँझिँदै, थातथलो छाड्दै किसान

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण
बाँदरआतंकले खेतीयोग्य जमिन बाँझिँदै, थातथलो छाड्दै किसान

उदयपुरको कटारी नगरपालिका– ११, आरबोटेमा बाँदरकै कारण बाँझै रहेको बारी । स्थानीयका अनुसार बाँदरकै कारण अहिले त्यो बारीमा खेती गर्न छाडिएको हो ।

उदयपुरका ग्रामीण तथा पहाडी क्षेत्रमा पछिल्ला वर्षहरूमा बाँदर र बँदेलको आतंकले खेतीपाती संकटमा पर्दै गएको छ । बाली जोगाउन नसकेपछि किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएका छन् । कतिपयले पुस्तौँदेखिको थातथलो नै त्याग्न थालेका छन् । 

जंगलनजिकका बस्तीमा बढ्दो वन्यजन्तु आतंकका कारण खेतीमा निर्भर परिवार विस्थापनको संघारमा पुगेका छन् । विशेषगरी जिल्लाका महाभारत र चुरे क्षेत्रका गाउँमा बाँदरको समस्या भयावह बन्दै गएको स्थानीय बताउँछन् । किसानले वर्षौँदेखि लगाउँदै आएको मकै, कोदो, धान, भटमास, तरकारी तथा फलफूल बाली बाँदर र बँदेलले नष्ट गर्न थालेपछि खेतबारी बाँझिँदै गएका छन् ।

कटारी नगरपालिका– ११, मसारका पाँच घरपरिवारले बाँदरकै पीडाका कारण करिब ६ वर्षअघि गाउँ छाड्नुपरेको स्थानीय बताउँछन् । सोही क्षेत्रका स्थानीय ठुलोकान्छा परियारले खेती गरेर जीवन धान्न असम्भवजस्तै भएपछि बसाइँ सर्नुको विकल्प बाँकी नरहेको गुनासो गरे । ‘बारीमा लगाएको मकै, कोदो र अन्य बाली सखाप पार्न थालेपछि गाउँ छाड्न बाध्य हुनुपरेको छ,’ उनले भने ।

उदयपुरगढी गाउँपालिका– १ का किसान राजन खत्री पनि बाँदर आतंककै कारण खेती छाड्ने अवस्थामा पुगेको दुखेसो गर्दछन् । उनी भन्छन्, ‘मकै, कोदो, भटमास वा अन्य दलहन जे लगाए पनि बाँदरबाट जोगाउन सकिँदैन । पहिले वार्षिक सात–आठ मुरी उत्पादन हुने बारी अहिले बाँझै छ ।’ 

खत्रीका अनुसार महिनौँको मिहिनेत बाँदरको एक हुलले केही घण्टामै नष्ट गरिदिन्छ । ‘खेती नै हाम्रो जीवन थियो । तर, दिनरात दुःख गरेर उब्जाएको बाली बाँदरले क्षणभरमै सखाप पारिदिन्छ । चौबिसै घण्टा खेत कुरेर बस्न सम्भव हुँदैन, अब गाउँ छाड्नुको विकल्प छैन,’ उनले भने ।

स्थानीयले सुरुवाती दिनमा सामूहिक रूपमा बाँदर लखेट्ने अभियान चलाए पनि अहिले त्यो प्रयास प्रभावकारी हुन छाडेको बताउँछन् । ठुलोकान्छा परियार भन्छन्, ‘पहिले ठुलो स्वर गरेर कराउँदा बाँदर भाग्थ्यो, अहिले त त्यो पनि टेर्दैन ।’ 

बाँदरको डरले कतिपय किसान खाद्यान्न खेती छाडेर अदुवा, खुर्सानी र फलफूल खेतीतर्फ लागेका छन् । तर, ती बालीसमेत सुरक्षित नरहेको किसानहरूको गुनासो छ । फलफूलका बगैँचा नष्ट हुने, पाक्न लागेको उत्पादन सखाप हुने समस्या बढ्दै गएको छ ।

नेपाली कम्युनिस्ट पार्टी उदयपुरगढी गाउँपालिका स्थानीय नेता होमबहादुर बस्नेतका अनुसार बाँदरको समस्या केवल खेती नोक्सानीमा सीमित छैन, यसले गाउँ नै रित्तिँदै गएको छ । ‘गाउँघर घुम्दा किन जग्गा बाँझो भयो भनेर सोध्यो भने एउटै उत्तर पाइन्छ– बाँदर र बँदेल । कतिपय बस्तीमा मान्छे भेटिनै छाडेका छन्, घरहरू खण्डहर बन्न थालेका छन्,’ उनले भने । कतिपय गाउँमा बाँदरले घरभित्रै पसेर अन्न नष्ट गर्ने र घरमा बसोबास गरिरहेका मानिसलाई समेत त्रसित बनाउने गरेको स्थानीयको भनाइ छ । ‘घरमै एकजना दिनभर बाँदर धपाउन बस्नुपर्ने अवस्था छ,’ बस्नेतले भने । 

जिल्लाका आठवटै स्थानीय तहमा बाँदर आतंक बढ्दो छ । स्थानीयका अनुसार जंगल विनाश कारण बाँदर शत्रु बन्दै गएको छ । ‘जंगल मासियो, बाघजस्ता जंगली जनावर हराए, बाघले मात्र बाँदर आहरा बनाउँथ्यो । अब बाघ नभएपछि बाँदरको संख्या बढेको छ । त्यस मारमा किसान परेका छन्,’ बस्नेतले भने ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर विश्वकर्माले बाँदर समस्या राष्ट्रिय चुनौती बन्दै गएको भन्दै दीर्घकालीन समाधानका लागि संघीय सरकारले विशेष नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए । ‘गाउँघर रित्तिँदै गएका छन्, खेतीयोग्य जमिन बाँझिँदै छ ।

सुझावित समाचार