धानबाली लगाउनुअगावै सरकारले समर्थन मूल्य तोक्यो

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले यसपालि धान रोप्नुअगावै न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो।

मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ६६० रुपैयाँ र मध्यम धान ३ हजार ८६० रुपैयाँ प्रतिक्विन्टल निर्धारण गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

विगतमा धान रोपेपछि मात्रै मूल्य निर्धारण हुने गरेकोमा यसपालि सरकारले बेलैमा धानको समर्थन मूल्य निर्धारण गरेको हो। गत वर्ष साउन अन्तिम साता मात्रै सरकारले समर्थन मूल्य निर्धारण गरेको थियो। गत वर्ष बर्खे सिजनको मोटा धानको ३ हजार ४८३ र मध्यम धानको तीन हजार ६२८ रुपैयाँ मूल्य निर्धारण भएको थियो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, ०८२ जारी गरेर बाली लगाउनुअगावै मूल्य निर्धारण गर्ने कार्यतालिका नै बनाएको छ। निर्देशिकाअनुसार वर्षे धानको समर्थन मूल्य निर्धारणका लागि प्रत्येक वर्ष ३० वैशाखसम्ममा मन्त्रिपरिषदमा सिफारिस पेस गरिसक्ने उल्लेख छ।

सुझावित समाचार