नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित मणिसंगम माविका शिक्षक कृष्णबहादुर खन्गाहाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। भवानी माविमा नियुक्ति लिँदा नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियारले सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
खन्गाहाले भवानी माविमा २०५९ मंसिर १ देखि लागू हुने गरी अस्थायी प्रावि तह तथा २०७५ चैत २९ देखि प्रावि तहको स्थायी शिक्षकमा नियुक्तिका लागि नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ। उनले भारतको नागाल्यान्ड बोर्ड अफ स्कुल एजुकेसन कोहिमाबाट जारी भएका भनिएका एडमिट कार्ड, मार्कसिट र माइग्रेसन सर्टिफिकेटलगायतका योग्यतासम्बन्धी झुट्टा विवरण पेस गरी नियुक्ति लिएको आरोपपत्रमा उल्लेख छ।
उनी हाल मणिसंगम माविमा प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत छन्। खन्गाहाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कैद र जरिवाना सजाय मागदाबी गरिएको छ।