बागमती प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेश सभाको बजेट तथा बर्खे अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान गरिएको अधिवेशन आज दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यससँगै प्रदेश सरकारको मन्त्रालय पुनर्संरचना, बजेट प्राथमिकता, चालू खर्च कटौती, विकास आयोजना तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि मन्त्रालय संख्या १४ बाट घटाएर आठमा झार्ने निर्णय गरिसकेको छ । सोहीअनुसार नयाँ संरचनाअनुसार कार्यविभाजन नियमावली संशोधनको प्रक्रिया पनि अघि बढाइएको छ । अधिवेशनमा मन्त्रालय मर्ज, प्रशासनिक पुनर्संरचना तथा बजेट कार्यान्वयनसम्बन्धी विषयले प्राथमिकता पाउनेछ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार सरकारले आगामी बजेटलाई यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बनाउने तयारी गरेको छ । चालू खर्चमा कटौती गर्दै विकास निर्माण तथा प्रतिफल दिने योजनामा केन्द्रित हुने सरकारको तयारी छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ४९ देखि ५० अर्ब रुपैयाँहाराहारीको बजेट ल्याउने प्रारम्भिक तयारी गरेको छ । भौतिक पूर्वाधार, खानेपानी, ऊर्जा, स्वास्थ्य, कृषि तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्ने संकेत सरकारले गरेको छ ।

सत्तापक्षले आर्थिक अनुशासन, प्रशासनिक सुधार र विकासलाई केन्द्रमा राखेर बजेट ल्याउने दाबी गरिरहेको छ भने प्रतिपक्षी दलहरूले खर्च क्षमता, अधुरा आयोजना र प्रदेश सरकारको कार्यसम्पादनलाई मुख्य मुद्दा बनाउने तयारी गरेका छन् ।

सुझावित समाचार