बागमती नदी तर्न खोज्दा डुबेर बेपत्ता दुई युवकको शव भेटियो

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

शनिबार बागमती नदी तर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवकको शव आइतबार दिउँसो फेला परेको छ। शनिबार अपराह्न ४ बजेतिर नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमाना झप्सी भन्ने स्थानबाट पाँचजना युवकलाई खोलाले बगाएको थियो।

त्यसमध्ये दुई युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जनाकारी दिए। लालबन्दी नगरपालिका–९, बस्तीपुर बस्ने अन्दाजी १८ वर्षका रोहित महतो र लालबन्दी–६ बस्ने अन्दाजी २० वर्षका गणेश महतोको शव खोजतलासको क्रममा आज बागमती नगरपालिका–११, स्थित खोलाकिनारमा फेला परेको हो।

खोला तर्ने क्रममा झप्सी झोलुंगे पुलमुनिबाट रोहित र गणेशसँगै बरहथवा नगरपालिका–५ बस्ने अन्दाजी २८ वर्षका सहमद मोमिन र २४ वर्षका मोहम्द अखतर, ब्रह्मपुरी गाउँपालिका–३ बस्ने अन्दाजी २० वर्षका श्याम भण्डारी पनि खोलामा बगेका थिए। तर, उनीहरू तीनजना केही मिटरको दूरीमा रहेको रौतहट नगरपालिका–१, नुनथर क्षेत्रमा पौडिएर निस्कन सफल भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता राईले बताए।

दुईजना भने बेपत्ता थिए। हिजो राति अबेरसम्म प्रहरी र स्थानीयले खोजी गर्दा पनि उनीहरू फेला परेका थिएनन्। आइतबार फेरि सम्भावित क्षेत्रमा खोजी गर्ने क्रममा दुईजनाको शव फेला परेको प्रहरीले जनाएको छ।

पाँचैजना युवकहरू शनिबार बिहानै घुम्न निस्किएको र उक्त स्थानमा पुगेको परिवारको भनाइ छ। दुवै शव घटनास्थलको मुचुल्कापछि प्रहरीले परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।
 

सुझावित समाचार