बाजुराको रानीसैन लाम्पाटा घटनाका दोषीलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। क्लबका अध्यक्ष विनोद बुढाले सरकारले २४ घण्टासम्म पनि माग कार्यान्वयन नगरेको भन्दै अनिश्चितकालका लागि पुनः कर्णाली करिडोर बन्दको घोषणा गरेको बताए।
जेठ ८ गते दिउँसो हिमाली युवा क्लब, राजनीतिक दल र प्रशासनबिच ६बुँदे सम्झौता भई आन्दोलन स्थगित गरेर अवरुद्ध सडकखण्ड नियमित गरिएकाे थियो। हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीलाई ज्ञापनपत्र बुझाउँदै यसअघिको सम्झौताबमोजिमका मागहरू कार्यान्वयन नभएको भन्दै फेरि आइतबार दिउँसो १ बजेबाट राजमार्ग बन्द गरेका छन्।
२४ घण्टासम्म कुनै पनि माग पूरा नभएको र हिमाली– ३ का स्थानीयहरूको घरमा थप लुटपाट र तोडफोड भइरहेको भन्दै तत्काल घटनाको छानबिन गरी दोषीलाई कारबाही नगरेसम्म राजमार्ग बन्दको घोषणा गरेका हुन्।
हिमाली गाउँपालिका– ३ को लाम्पाटामा स्थानीयका घरहरूमा लुटपाट र तोडफोड हुनुका साथै स्थानीय बासिन्दामाथि निर्मम कुटपिट भएको थियो। क्लबका अध्यक्ष बुढाले हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका केही व्यक्तिहरू यस घटनामा संलग्न रहेको दाबी गरेका छन्। उनीहरूले स्थानीयवासी र भ्रमणमा आएका पर्यटकहरूको समेत व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटेको उनको आरोप छ।
घटनाको छानबिनका लागि लाम्पाटा क्षेत्रमा जिल्लाबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमान्डमा १६ जनपथ र १० सशस्त्र गरी २६ प्रहरी परिचालन गरिएको छ।