दुई खेमाका कांग्रेस शीर्ष नेताहरूले आरोप–प्रत्यारोप जारी राखेका छन् । उनीहरूका अभिव्यक्तिले पार्टीभित्रको आन्तरिक संघर्षलाई थप छरपस्ट पार्दै छ ।
लामो समयदेखि ६०/४० को आन्तरिक भागबन्डाबाट अघि बढेको कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै विगतको चलन अन्त्य भएको नेताहरूले बताउँदै आएका छन् । तर, विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन (शेरबहादुर देउवा) पक्ष र नेता शेखर कोइराला पक्षले सम्मानजक हिस्सा खोजेको छ । अन्यथा पार्टी एकताबद्ध हुन नसक्ने चेतावनी देउवा र कोइराला पक्षले दिँदै आएको छ । संस्थापन पक्षले व्यक्तिगत रूपमा जिम्मेवारी दिने, तर सामूहिक रूपमा सम्बोधन गर्न नसकिने अडान राख्दै आएको छ । जसका कारण कांग्रेसमा संस्थापन र इतर पक्षको ध्रुवीकरण बन्दै गएको छ । र, सार्वजनिक रूपमा वाकयुद्ध नै चलेको छ ।
शनिबार कांग्रेस सभापति थापाले पार्टी विधान नमान्ने र संगठनात्मक काममा अवरोध सिर्जना गर्नेलाई बिदा गर्ने चेतावनी दिएका छन् । इतरपक्षले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका वेला थापाले धन्यवाद दिएर बिदा गर्ने चेतावनी दिएका हुन् । शनिबार मोरङस्थित कोइरालानिवासमा पुगेका थापाले सदस्यता अद्यावधिकबारे सोधिएको प्रश्नमा पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई मूलधारमा फर्काउने प्रयास भइरहे पनि विधानविपरीत गतिविधि गर्नेलाई संरक्षण नगर्ने बताए ।
‘सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ । अधिवेशनलक्षित सदस्यता व्यवस्थापनका लागि साझा संयन्त्र बनाउन पनि हामी तयार छौँ । तर, पार्टीमा अवरोध काममै गर्ने र विधान नमान्ने प्रवृत्तिलाई अब छुट दिइँदैन । आवश्यक परे धन्यवाद दिएर बिदा गरिन्छ,’ थापाले भने ।
३१ वैशाखमा पोखरामा आयोजित कार्यक्रममा थापाले वडा सभापतिले क्रियाशील सदस्यता अद्यावधिकको काम नगरे अर्को व्यक्तिलाई जिम्मा दिने चेतावनी दिएका थिए । ‘कुनै पनि तहको साथीले म यो काम गर्दिनँ भन्नुभयो भने तपाईंहलाई धेरैधेरै धन्यवाद । नेक्स डे अर्को साथीलाई चिठी जान्छ । अर्को साथीले जिम्मा लिनुहुन्छ । पार्टी कसैको कारणले रोकिँदैन,’ थापाले भनेका थिए । यसअघि गत ३ जेठमा काठमाडौंमा आयोजित कार्यक्रममा थापाले सदस्यता अद्यावधिक नगर्ने विषय स्विकार्न नसकिने चेतावनी दिएका थिए । ‘कांग्रेसको आठ लाख क्रियाशील सदस्य हुनुहुन्छ । तपाईंले एकपटक म नेपाली कांग्रेसको सदस्यता निरन्तरता गर्न चाहन्छु यति भनेर भनिदिनुस् भनेर भन्दै गर्दा ल भन्लास् त कांग्रेस पार्टी सक्काउने भन्ने अभिव्यक्ति सुनिरहेको छु । अद्यावधिक नगर्ने भनेर आह्वान गर्ने लहर चलेको छ यहाँ । के भनेको त्यो अद्यावधिक नगर्ने भनेर ?’ थापाले भनेका थिए ।
३१ वैशाखमा पोखरामा आयोजित कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले लामो समयदेखि चल्दै आएको ६०/४० को भागबन्डाको मनोवृत्ति त्याग्न इतरपक्षलाई चेतावनी दिएका छन् । ‘अब ६०/४० को कुरा छोडिदिनुस्, अब सबै मिलेर १०० प्रतिशतको कांग्रेस हुनुपर्छ,’ उनले भनेका छन् ।
इतरपक्षका नेता पूर्णबहादुर खड्काले पार्टीका नेतालाई नलल्कार्न पनि सभापति थापालाई चेतावनी दिएका छन् । सुर्खेतमा गत २ जेठमा आयोजित कार्यक्रममा खड्काले भनेका थिए, ‘अस्ति गण्डकीमा सुनेँ, पार्टीका नेताहरूलाई लल्कारिराख्नुभएको छ । पार्टीको वडा सभापतिले अद्यावधिकको काम नगरे अर्को मान्छेलाई तोकिदिन्छु, यही हो कांग्रेस पार्टी ? लोकतान्त्रिक पार्टी ?’ सुर्खेतमै खड्काले विशेष महाधिवेशनकै कारण कांग्रेस ३८ सिटमा खुम्चिएको र सोहीकारण रास्वपा करिब दुईतिहाइ सिटमा पुगेको आरोप लगाए । ‘विशेष महाधिवेशनको कारणले कांग्रेस ३८ सिटमा खुम्चियो, रास्वपा दुईतिहाइनजिक पुग्यो । विशेष महाधिवेशन नभएको भए देशको परिस्थिति अर्कै हुन्थ्यो,’ खड्काको भनाइ थियो । इतरपक्षका नेता विमलेन्द्र निधिले २९ वैशाखमा धनुषामा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई आफूहरूले सभापति नमानेको बताएका थिए । उनले दुराशयपूर्ण रूपमा सदस्यता अद्यावधिकको विषय ल्याइएको दाबी पनि गरे । ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नवीकरण भइसकेकाले त्यसलाई दोहोर्याएर गर्नुपर्ने कुनै आवश्यकता छैन,’ निधिले भनेका थिए, ‘फेरि अद्यावधिकको नाममा हाजिर गराउनु एकातिर विधानविपरीत छ भने अर्कातिर राजनीतिक रूपमा दुराशयपूर्ण छ ।’
इतरपक्षका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । इतरपक्षको बागमती प्रदेशस्तरीय भेलामा सिंहले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी उनले दिएका थिए । ‘कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य भयो । त्यसलाई हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? पार्टीमार्फत मुलुकको हितका लागि अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन,’ उनले भने, ‘लोकतान्त्रिक पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुनलाई प्राथमिकतामा नराख्ने भन्ने विषयमा डिबेट हुन्छ । कसैलाई नेतृत्व लिनका लागि हतार भयो भन्दैमा हुँदैन ।’
पछिल्लो समय नेता शेखर कोइराला थोरै मात्र बोल्ने गरेका छन् । इतरपक्षका १९ नेतालाई सभापति गगन थापाले केन्द्रीय सदस्यमा मनोनयन गरेपछि कोइरालाले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको चेतावनी दिएका थिए । ‘कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको छ । कांग्रेसको १४औँ महाधिवेशनपछि नवीकरण गरिएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा नै पार्टीको १५औंँ महाधिवेशन (एकता महाधिवेशनका रूपमा) सम्पन्न गरिनुपर्छ। कांग्रेस एकताको मुख्य आधार यो हुनुपर्छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका थिए ।
शशांकले पोखरामा भने–सर्वोच्चले कांग्रेस फुटायो
इतरपक्षका नेता डा. शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गरेका छन् । संस्थापन इतरपक्षले पोखरामा शनिबार गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले भने, ‘गगन थापाजीको ग्रुप थिएन, तैपनि फुट्यो । यो आश्चर्यजनक कुरा हो । किन फुट्यो भन्दा यो सर्वोच्च अदालतले फुटायो ।’
भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कारबाही नगर्न केन्द्रीय सभापति गगन थापालाई चेतावनी दिएका छन् । ‘तपाईंले वडा सभापति मात्र होइन, जिल्ला सभापतिलाई हटाउनुभएको छ, अलग्गै गर्नुभएको छ, यदि तपाईंले भनेको नमानेबापत । उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने, कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईंलाई पार्टी कार्यालयबाट निकाल्नेछन् । त्यसमा हामी साथ दिन्छौँ,’ बस्नेतले भने ।
संस्थापन इतरपक्षको गण्डकी भेलाले १५ जेठसम्म नेताहरूले निकास ननिकाले महासमितिको बैठक बसी समाधान निकाल्न आह्वान गर्ने निर्णय गरेको छ । भेलाले प्रतिशोधपूर्ण ढंगले राष्ट्रिय सभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौला र भ्रातृसंस्था केन्द्रीय समिति विघटन गरेको भन्दै भेलाले विरोध गरेको छ । पार्टीभित्र अन्यायपूर्ण गतिविधि सञ्चालन नगर्न र भ्रातृसंस्थालाई तदर्थवादका रूपमा मात्र सञ्चालन गर्ने परिपाटीको अन्त्य गर्न आग्रह गर्ने निर्णय भेलाले गरेको छ ।