दिव्येश्वरी तेक्वान्दो डोजाङले आयोजना गरेको जुनियर खेलाडी ग्रेडिङबाट सातजना खेलाडीले डबल प्रोमोसन पाएका छन् । डबल्स प्रोमोसन पाउनेमा अन्जलीकुमारी यादव, पोर्सियाकुमारी यादव, नेत्र श्रेष्ठ, उज्ज्वल घिमिरे, अशोक कर्ण, रूपा कर्ण र दीपिशा खड्का रहेका छन् । अशोक र रूपा पतिपत्नी हुन् ।
उनीहरूका दुवै छोरी अनुष्का र अनुपामा पनि बाबु–आमासँगै दिव्येश्वरीमै प्रशिक्षणरत छन् । अशोक बिग मार्ट केन्द्रीय कार्यालयका चिफ टेक्निकल अफिसर हुन् । अशोकले बच्चालाई डोजाङमा प्रशिक्षण गरिरहेका वेला कुर्नुपर्ने समयमा आफू पनि तेक्वान्दोप्रति आकर्षित भएर तेक्वान्दो प्रशिक्षण सुरु भएको बताए ।
उनले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन पनि खेलकुद उपयुक्त माध्यम भएको धारणा राखे । एकदिने ग्रेडिङमा दिव्येश्वरी र गोठाटार तेक्वान्दो डोजाङका ४५ खेलाडी सहभागी थिए । डबल प्रोमोसन पाउने खेलाडी भने दिव्येश्वरी मात्र हुन् । नेपाल तेक्वान्दो संघका सदस्यसमेत रहेका प्रेमबहादुर भण्डारी दुवै डोजाङका अध्यक्ष हुन् ।