थारू कला र संस्कृतिको प्रवर्द्धनका लागि ‘घोंघी सांस्कृतिक साँझ’

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नारासहित राजधानी काठमाडौंमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ। कार्यक्रम जेठ १५ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

घोंघी स्टेसन प्रालिको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रम थारू कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रममा थारू सांगीतिक क्षेत्रमा स्थापित तथा उदाउँदै गरेका कलाकारहरूको प्रस्तुति रहनेछ।

कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक तथा संगीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र गायक विकास चौधरीले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।

त्यसैगरी, कार्यक्रममा मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई र डान्सर सुमिना चौधरीको नृत्य प्रस्तुति रहनेछ। कार्यक्रमको उद्घोषण तथा गायन प्रस्तुति गायक अनुप मगरले गर्नेछन्।

कार्यक्रमको शीर्षक प्रायोजकमा ‘चौधरी दाइको’ र प्रायोजकमा ‘चौधरी सेकुवा’ रहेका छन्। साथै, जिए म्युजिक र आर प्रोडक्सन एन्ड इन्टरटेनमेन्टले सहकार्य गरेका छन्।

आयोजकका अनुसार थारू समुदायको कला, संस्कृति र खानपानलाई प्रवर्द्धन गर्दै समुदायलाई एकताबद्ध गर्ने उद्देश्यसहित यो कार्यक्रम विशेष सांस्कृतिक उत्सवका रूपमा आयोजना गर्न लागिएको हो।

सुझावित समाचार