उच्च मूल्यका कृषि उत्पादन निर्यातका लागि अन्तर्राष्ट्रिय मापदण्ड पालनामा जोड

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तर सुधार, प्रशोधन प्रक्रिया पूरा गराउन सके कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्यका कृषि उत्पादनहरूले विदेश निर्यातमा प्रोत्साहन पाउने विज्ञहरूले जानकारी गराएका छन्। 
नेपालबाट अलैँची, बेसार र अदुवा ठुलो परिमाणमा भारत निर्यात भइरहेको उल्लेख गर्दै तेस्रो मुलुकमा निर्यात विस्तार गर्न आवश्यकता औँल्याए। उनले आइएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी दिनमा उत्पादन वृद्धि र निर्यात विस्तारका लागि संयुक्त योजना अघि बढाउने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बिच शुक्रबार विराटनगरमा कोशी प्रदेशमा उत्पादन हुने उच्च मूल्य कृषि बालीहरूको मूल्य श्रृंखला विकास तथा निर्यात प्रवर्द्धनका विषयमा भएको छलफलमा विज्ञहरूले यस्तो जानकारी दिएका हुन्।  

आइएफसीका सिनियर अपरेसन अफिसर विजय शेखरले हाल नेपालबाट अलैँची, बेसार र अदुवा ठुलो परिमाणमा भारत निर्यात भइरहेको उल्लेख गर्दै तेस्रो मुलुकमा निर्यात विस्तार गर्न गुणस्तर सुधार, प्रशोधन र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले आइएफसी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी दिनमा उत्पादन वृद्धि र निर्यात विस्तारका लागि संयुक्त योजना अघि बढाउनुपर्नेमा जोड दिए । 

आइएफसीका कन्सल्टेन्ट राजन शर्माले कोशी प्रदेशमा उच्च मूल्यका अलैँची, अदुवा र बेसारको  उत्पादन प्रशस्त भएकाले दोस्रो र तेस्रो मुलुक निर्यातमा गुणस्तर र प्रशोधनमा विशेष जोड दिन उद्यमी र सरकारसँग आग्रह गरे।    

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्त्ता पशुपति पोखरेलले कोशी प्रदेशमा चिया, अलैँची, अदुवा, अम्लिसो, छुर्पी, चिज, जडीबुटी, ताजा तरकारी आदि वस्तुहरू भारतलगायत अन्य देशहरूमा निर्यात गरिँदै आएको र उच्च मूल्य श्रृंखलाअन्तर्गत पर्ने अदुवा, अलैँची, बेसारजस्ता वस्तुको उत्पादन बढाई निर्यात प्रवर्द्धनमा जोड दिन आइएफसीसँग सरकारले सहकार्य गरेर अगाडि बढ्नुपर्ने सुझाव दिए । 

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना मोरङका प्रमुख मनोज यादवले सुपर जोन तोकेर उच्च मूल्यका वस्तुहरू कोशी प्रदेशमा उत्पादन भइरहेको, तर  बजार अभाव रहेको जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले उच्च मूल्यका कृषि वस्तुहरूको गुणस्तर परीक्षणका लागि कोशी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक प्रयोगशालाको आवश्यकता रहेको बताए। 

अलैँची व्यवसायी निर्मल भट्टराई, बेसार व्यवसायी केशव घिमिरेलगायतले कोशी प्रदेशमा आधुनिक प्रयोगशालाको स्थापना, ड्रयरको व्यवस्था, बजारीकरणको समस्या रहेको बताउँदै, हाल अलैँची, बेसार र अदुवाको निर्यात भारततर्फ बढी रहेको हुँदा अब तेस्रो मुलुकमा निर्यात बढाउन संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए।  

युवा उद्यमी प्रतीक राउत, युनेश श्रेष्ठलगायतले उद्योग वाणिज्य महासंघको कोशी प्रदेशमा भएको राम्रो नेटवर्कको उपभोग गरेर उच्च मूल्यका कृषि उपज तेस्रो मुलुकमा उत्पादन गराउन निजी क्षेत्र र सरकारको सहकार्य हुनुपर्छ भन्ने बताए।     

छलफलमा सहभागी अदुवा ,अलैँची, वेसार, कफीलगायतका कृषि उत्पादन र व्यवसायीहरूले उच्च मूल्यका कृषि वस्तुहरु विदेश निर्यातका लागि आधुनिक प्रयोगशाला स्थापना, ड्रयरको व्यवस्था, बजारीकरण तथा निर्यात प्रक्रियामा सहजीकरण हुनुपर्ने माग गरे। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष राजन श्रेष्ठले चिया, अलैँची, अदुवा, अम्लिसो, छुर्पी, चिज, जडीबुटी तथा ताजा तरकारीजस्ता वस्तु भारतसहित अन्य मुलुकमा निर्यात भइरहेको उल्लेख गर्दै उच्च मूल्य कृषि उत्पादनको निर्यात प्रवर्द्धनमा सरकारले विशेष सहयोग गर्नुपर्ने बताए।  
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्देन थेबेले अलैँची, अदुवा र बेसारजस्ता उत्पादनको उत्पादन वृद्धि र निर्यात विस्तारमा प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर बजारीकरणलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे । 
 
 

सुझावित समाचार