नेपाली कांग्रेसका सभापति गगन थापाले विधानविपरीत चल्नेलाई धन्यवाद दिएर बिदा गर्ने बताएका छन्। शनिबार बिहान विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँग बोल्दै सभापति थापाले विधानविपरीत कार्य गर्नेहरूलाई अब पार्टीमा स्थान दिइरहन नसक्ने भन्दै धन्यवाद दिएर बिदा गर्न सकिने बताएका हुन्।
‘पार्टीभन्दा बाहिर रहेका नेता–कार्यकर्तालाई मूलधारमा ल्याउन आफूहरूले सक्दो उचित वातावरण सिर्जना गरिरहेको, तर पनि आउन नचाहेर बाहिर अराजकता फैलाउनेलाई धन्यवाद दिएर बिदाइ गर्नुको विकल्प छैन,’ सभापति थापाले पत्रकारहरूसँग भने।
सभापति थापाले आगामी नियमित अधिवेशनका लागि सदस्यता वितरण पारदर्शी र व्यवस्थित बनाउन छुट्टै र साझा संयन्त्र बनाउन लागेको र त्यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
उनले चित्त नबुझ्ने नेताहरूलाई पनि पार्टीले समेट्न खुला बतावरण बनाइरहेको, तर पनि सदस्यता नवीकरण वा पार्टीको काममा अवरोध सिर्जना गरिएमा पार्टी धन्यवाद दिएर अरूलाई जिम्मेवारी दिन बाध्य हुने प्रस्ट पारे।
थापाले भने, ‘वातावरण बनाउँदा पनि अराजक गतिविधि गरिरहनेहरूलाई विधानअनुसार ‘धन्यवाद’ पत्र दिएर अर्को साथीलाई जिम्मेवारी दिनेछौँ, त्यसका लागि प्रक्रिया सुरु भइसकेको छ।’